कोत्रेदेखि मुग्लिनसम्म फर्निचर सेफ्टी राखिने
पोखरा, असार ६ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ ।
मुग्लिनदेखि कोत्रेसम्मको ७२ किमी सडकखण्डमा सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका इञ्चार्ज एवम् प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताए ।
‘वर्षा सुरु भएसँगै राजमार्गमा दुर्घटनाको संख्या बढेपछि प्रहरीले त्यसलाई रोक्ने उपाय निकालेको हो’, क्षेत्रीले भने,‘विगतको तुलनामा जेठ र असार महिनामा दुर्घटना बढेका छन् त्यसलाई रोक्न आफूहरु हरतरहको प्रयासमा लागिरहेका छौं ।’
दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सडक छेउछाउमा सेफ्टी फर्निचर राख्न लागेको हो। त्यसका लागि सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनियरको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यमा प्रहरी निरीक्षक र जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज रहेका छन् ।
उपसमितिले एक हप्ताभित्रमा स्थलगत अध्ययन गरी प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्ने बताइएको छ । प्रतिवेदनका आधारमा राजमार्ग छेउछाउमा सेफ्टी फर्निचर राखिनेछ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पनि जिल्लाभित्र दुर्घटना न्यूनीकरण गर्न राजमार्ग क्षेत्रमा सेफ्टी फर्निचर राख्ने तयारी गरिरहेको जानकारी दिए ।