के होला अव दिपक मनाङेको सपथ ?, संसदमा अन्यौल

पोखरा, पुस १५ ।
गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेले संसद सदस्यको सपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । अघिल्लो साता सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले विहिबार प्रदेशसभामा निवेदन बुझाएका हुन् ।

उनले निवेदन दिएपछि त्यसबारे छलफल गर्न संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक डाकियो । तर समितिमा सबै पार्टीको प्रतिनिधित्व नभएको भन्दै औपचारिक बसेन । अनौपचारिक रुपमै छलफल भएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

उनले शुक्रबार मुख्य न्यायधिबक्तासँग छलफल राय लिए भने केही कानुनी ब्यक्तिहरुसँग पनि परामर्श गरिसकेका छन् । ‘निवेदन आएको छ । मैले एक्लै निर्णय लिन मिल्दैन, कार्यब्यवस्था बैठकमा उनले भने–कार्यब्यवस्थाले नै राय बनाउनुपर्छ भन्ने मेरो धारणा हो । अव यहीँबाट छिनोफानो हुन्छ ।’

नेपाली काँग्रेसका सांसद कुमार खड्काले चाहीँ अदालतबाट मुद्धा फैसला नभएकोले अहिले सपथ गराउन नमिल्ने बताए । ‘मैले बुझेको अहिलेको नयाँ देवानी संहिताअनुसार बाहिरै बसेर मुद्धा लड्न पाउने ब्यवस्था छ । तर संसद सदस्यका लागि योग्य भैसकेका छैनन् । पूरानो निर्णय अनुसार उनी अपराधी हुन् । नयाँ निर्णय नहुँदा सम्म उनको अपराध सकिँदैन, उनी भन्छन्–सांसद बन्नका लागि दिएको उनको निवेदन दर्ता गर्न लायक नै थिएन । अदालतले थुनामुक्त मात्र गरेको हो । अपराध मुक्त गरेको होईन । तसर्थ सबै कुरा अदालतबाट टुंगिनुपर्छ ।’

नेकपाका सांसद कृष्ण थापा चाहीँ सपथ गराउनुपर्ने बताउँछन् । ‘संविधानले जनतालाई सार्वभौम अधिकार दिएको छ । उ अयोग्य थियो भने उम्मेदवार हुनैबाट रोक्नुपथ्र्यो । जनताले निर्वाचित गरिसकेपछि सपथमा रोक्नुहुँदैन, उनी भन्छन्–यो सभामुखको अन्तरनिहित अधिकार हो । निवेदन आएपछि वहाँले सीधै सपथ खुवाउन पनि सक्नुहुन्छ ।’

नेकपाका केही सांसदहरु उनलाई सपथ खुवाउनुपर्ने पक्षमा छन् भने केही चाहीँ सपथ खुवाउन नहुने पक्षमा छन् । श्रोतका अनुसार मनाङेलाई सपथ खुवाउनका लागि केन्द्रिय नेताहरुको समेत दवाव आईरहेको छ । मनाङे यतिबेला पोखरामै बसिरहेको श्रोतले बतायो ।