कास्की २ उपचुनावः नेकपा भन्दा कांग्रेसको प्रचार टोली जम्बो

पोखरा, कार्तिक २२ ।
नेपाली काँग्रेस कास्कीले कास्की २ को उपचुनावका लागि जम्बो प्रचार टोली गठन गरेको छ । पार्टी सभापति कृष्ण केसीको संयोजकत्वमा ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको हो । मूल समितिमा कास्की २ का क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला (मधु) र पोखरा महानगरका सभापति बजिरमान श्रेष्ठ सहसंयोजक छन् । महानगरका ११ वडाभित्र आगामी चुनाव हुँदैछ । सबै वडामा काँग्रेसले प्रचार संयोजक तोकेको छ ।

पोखरा ४ मा पूर्वमन्त्री यज्ञबहादुर थापा संयोजक छन् भने ७ मा कास्की काँग्रेसका पूर्वसभापति शुक्रराज शर्मा, ८ मा पूर्वमन्त्री तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण विजुक्छे, ११ मा पूर्व सांसद शारदा पौडेल, १५ मा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, १६ मा केन्द्रीय आमन्त्रित सदस्य तथा प्रदेश सांसद कुमार खड्काले चुनावी कार्यक्रमको नेतृत्व गर्नेछन् । यस्तै, १७ नम्बर वडामा कास्की काँग्रेस सभापति केसीले नै संयोजन गर्नेछन् भने २० मा प्रदेश सांसद विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा केन्द्रीय सदस्य जीवन परियार संयोजक छन् ।

शुक्रबार विशेष भेलाबाट २६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा पूर्व सांसद, पूर्व सभापति, वर्तमान सांसद, उम्मेदवारका केही आकांक्षी सहित नेताहरु छन् । चुनावलाई ब्यवस्थित बनाउनका लागि विभिन्न ३२ वटा उपसमिति गठन गरेको छ । अर्थ संकलन उपसमितिमा ऋषि सापकोटा, अनुगमन समितिमा राजेन्द्रनिधी कोइराला, सचिवालय ब्यवस्थथापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवि परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक छन् ।

यसैगरी उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ (सिकन्दर), भातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, वुथ परिचालनमा विजयराज आचार्य संयोजक छन् । यसैगरी, प्रचार प्रसार सामग्री व्यवस्थापनमा दीपेन्द्र मर्सानी, युवा–तरुण परिचालनमा मनोज गुरुङ, सम्पर्क समाज परिचालनमा ऋषि काफ्ले, महिला तथा आमा समूह परिचालनमा कोपिला रानाभाट, ट्रेड युनियन परिचालनमा मुरारी शर्मा, यातायात व्यवस्थापनमा जीतबहादुर गुरुङलाई संयोजक तोकेको छ ।

काँग्रेसले आइतबारदेखि चुनावी प्रचार सुरु गर्ने जनाएको छ । ‘प्र्रचारका लागि ११ वटै इकाईमा हाई कमाण्डमा बनाएर पठाएका छौं । खटिएका प्रतिनिधिले कार्यालय उद्घाटन गर्ने र ४ नम्बर वडाबाट घरदैलो सुरु गर्ने कार्यक्रम छ,’ सभापति केसीले भने । उनले जिम्मेवारीमा रहेका सबैलाई कार्यक्षेत्रमा गएर काम थाल्न आग्रह गरेका छन् । मंसिर १४ गते हुने चुनावका लागि काँग्रेसले पाका नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । नेकपाले भने स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट््टराईलाई चुनावी मैदानमा उतारेको छ ।

काँग्रेसले बनाएको प्रचार समिति नेकपाको भन्दा पनि ठूलो छ । नेकपाले २ हजार ६ सय ४१ सदस्यीय परिचालन समिति गठन गरेको थियो । यस्तै २६ वटा उपसमिति बनाएको थियो । संघीय समाजवादी पार्टीले ५ सय १ सदस्यीय प्रचार समिति गठन गरेको छ ।