ओलिको राष्ट्रबाद कालापानीमा लम्पसारः देउवा

पोखरा, मंसिर ६ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको खरो विरोध गरेका छन् । राष्ट्रबादी नारा लिएर चुनाव जितेपनि अहिले त्यो सामन्तबादमा परिणत भैसकेको उनको आरोप छ ।

‘बडो राष्ट्रबादी भनेका हैनन् ओलीले ? कहाँ गयो राष्ट्रबाद ? उसको राष्ट्रबाद त कालापानीमा गएर विलिन भो,’ उनले भने, ‘ओली लम्पसारबादी बनिसके । अव के को राष्ट्रबाद ?’ डेमोक्र्याटिक लयर्स एशशोसियसनको बार्षिक साधारणसभालाई पोखरामा सम्बोधन गर्दै वहाँले सरकारले संवैधानिक परिषदलाई कठपुतली बनाएको आरोप लगाए ।

देउवाले प्रजातन्त्र विरोधी विधेयकहरु संसदबाट कुनैपनि हालतमा पास हुन नदिने चेतावनी दिएका छन् । कास्की २ को उपनिर्वाचनमा काँग्रेसलाई बिजयी गराउन उनको आग्रह छ । चुनाव हारजीत भन्दा पनि प्र्रजातन्त्र सुरक्षित भए नभएको कुरा महत्वपूर्ण भएको भन्दै अधिनायकबादको खिलापमा उभिन आग्रह गरे ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओली अध्यादेश लिएर तानासाही बन्न खोजेको आरोप लगाए । उनले अहिलेको उपनिर्वाचन जनमत संग्रहजस्तो भएकोले विवेक पु¥याएर मतदान गर्न अनुरोध गरेका छन् ।