एकलौटी निर्णय भयो : पौडेल

 

भरतपुर, पुस १९ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए ।

उनले भने–‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन । मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुंगो लगाउनुपर्छ अनिमात्र पार्टी एक हुन्छ ।’

उनले पार्टीमा ‘छलफल र सल्लाह गरौंला’ भन्दा–भन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए ।

पौडल समूहको बहिस्कारका बीच नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औं महाधिवेशनको मिति तोकेको थियो ।

‘पार्टीमा केही समस्या छन्’–पौडेलले भने–‘समाधानका लागि मैले नौबुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ । त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।’

उनले जीवन्त पार्टीमा साना–ठूला विवाद भने भइरहने बताए ।

उनले पार्टीलाई सुदृढ बनाउन नेता–कार्यकर्ताले विकल्प खोज्ने बताए ।

‘म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिसनमा छु’–उनले भने–‘विकल्प कार्यकर्ताले खोज्छन् ।’

नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उनले स्वीकार गरे ।

देशलाई भ्रष्टाचारमुक्त र कांग्रेसलाई विकृतिमुक्त बनाउनुपर्ने नेता पौडेलको धारणा छ ।
(रासस)