उपनिर्वाचन आचारसंहिता जारी
काठमाडौं, कार्तिक ७ ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ ।
शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले बिहीबार विज्ञप्तिमार्फत् जनाएको छ ।
निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो ।
मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
यही कात्तिक १३ गतेबाट लागू हुनेगरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो ।
आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी–साधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ ।
राजनीति दल, उम्मेदवार, आमसन्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचरणजस्ता क्षेत्रलाई सो आचारसंहिताले समेटेको छ । (रासस)