अवैध रुपमा डोजर चलाउने पोखराका वडाध्यक्षलाई जरिवाना

पोखरा, असोज २ ।
अवैध रुपमा महानगरको स्विकृति विनै डोजर चलाउने वडाध्यक्षलाई महानगरले कारबाही गरेको छ । वडा नम्बर २१ को नाउडीमा अवैध रुपमा घडेरी खार्न लगिएको डोजरबाट जरिवाना असुलिएको छ । वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको डोजरलाई जरिवाना लिईएको हो ।
अवैध काम गरेपछि २१ का वडाध्यक्ष खगराज आचार्यले चावी खोसेर प्रहरीलाई बुझाएका थिए । आवश्यक कारबाहीका लागि महानगरलाई उनले नै सिफारिस पठाएका थिए । सोही सिफारिसका आधारमा डोजरले अवैध रुपमा खन्ने काम गरेकोले जरिवाना लिईएको महानगरका राजश्व शाखा प्रमुख छवी शर्मा तिमिल्सीनाले जानकारी दिए । उनका अनुसार २५ हजार रुपैयाँ जरिवाना असुलिएको छ ।
१७ नम्बरका अध्यक्ष अधिकारीले चाहीँ ब्यक्तिगत जग्गा खार्नका लागि डोजर पठाएकोले अवैध नभएको दावी गरिरहेका थिए । तर उनको दावीलाई पनि महानगरले सुनेन र जरिवाना लिएको हो ।