गण्डकीमा बर्षेनी २ लाख नयाँ गाडी

प्रकाश ढकाल
पोखरा, असोज १३ ।
गएको बर्ष यातायात ब्यवस्था कार्यालयमा करिब २ लाख नयाँ गाडीहरु दर्ता भए । यातायात ब्यवस्था कार्यालय गण्डकीको मातहतभित्र रहने गरी एकबर्षभित्रमा १ लाख ८४ हजार ३ सय ९५ वटा नयाँ गाडीहरु थपिएको तथ्यांक छ । आर्थिक बर्ष २०७३/७४ मा पनि १ लाख ६३ हजार नयाँ गाडी दर्ता भयो । २०७२÷०७३ सम्म १ लाख ४४ हजार ५ सय ३९ वटा सवारी दर्ता भएकोमा त्यसपछिको दुई बर्षमा (असार मसान्तसम्म) मात्रै ३ लाख ४८ हजार २ सय २७ वटा मोटरसाईकल तथा अन्य गाडीहरु दर्ता भए । सबैभन्दा बढी मोटरसाईकल दर्ता भएका छन् । हालसम्म ३ लाख ७२ हजार ३ सय १९ वटा मोटरसाईकल गण्डकीको मातहतमा छन् । पछिल्ला दुई बर्षमा २ लाख ६३ हजार ५ सय ६० वटा मोटरसाईकल दर्ता भएको यातायात ब्यवस्था कार्यालय गण्डकीले जनाएको छ ।

संख्यात्मक रुपमा हेर्दा बढी विलासिताको गाडीहरु धेरै छन् । कार, जीप, भ्यान दुई बर्षमा ४६ हजार ७ सय ८४ र ११ हजार ६ सय एउटा ट्रयाक्टरहरु दर्ता भएका छन् । बस ट्रक र ट्रिपरहरु ८ हजार ९ सय १६, मिनिबस–मिनिट्रक ८ हजार १ सय ३६ नयाँ भित्रिए । यो अवधीमा माईक्रोको संख्या पनि निकै धेरै थपिएको छ । ७ हजार ५ सय ३७ वटा माईक्रो गण्डकी कार्यालयमा दर्ता भएका हुन् । १ हजार ५ सय २६ वटा डोजर, एक्साभेटर लगायत निर्माणका साधन भित्रिए भने ४ वटा दमकल, ७३ वटा एम्बुलेन्स र ९० वटा ट्राइसाइकल दर्ता भएको कार्यालय प्रमुख अच्युतराज रेग्मीले जानकारी दिए । कार्यालय स्थापना भएदेखि अहिलेसम्म ४ लाख ९२ हजार ७ सय ३० वटा मोटरसाईकल तथा अन्य गाडीहरु दर्ता गरिएका छन् ।

गण्डकीमा दर्ता गरेपनि नेपालभरी चल्न पाउने अधिकार छ । त्यसैले अरु जिल्लाबाट पनि गण्डकी कार्यालयमा दर्ता गर्न आउनेहरु धेरै छन् । यद्यपी पूराना गाडीहरु नियन्त्रणमा चाहीँ आउन सकेका छैनन् । कार्यालयले १४ हजार भन्दा बढी सार्वजनिक गाडीहरुलाई गाडी रुट ईजाजत दिएको छ । पछिल्ला दुई बर्षमा कार्यालयले १ अर्व २५ करोड १७ लाख २६ हजार रुपैयाँ सवारी करबाट राजश्व संकलन गरेको छ भने ११ करोड ७७ लाख रुपैयाँ सवारी इजाजत दस्तुरबाट उठाएको छ ।

यसबाहेक सडक निर्माण तथा सम्भार दस्तुर र यातायात क्षेत्रको अन्य शीर्षकमा पनि कार्यालयले कर उठाउन पाउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पोखरामा १ लाख ६० हजार हाराहारीमा मोटरसाईकल सहितका गाडीहरु दैनिक गुड्छन् । पछिल्ला बर्षहरुमा यसको दर तीब्र रुपमा बढिरहेको छ । तर सडकको स्तरोन्नती नहुँदा ट्राफिक ब्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिव थापाले बताए ।

यसअघि केन्द्रको निगरानीमा रहेको यातायात ब्यवस्था कार्यालय गण्डकी अव प्रदेश सरकारको मातहतमा आएको छ । शुक्रबार विशेष कार्यक्रम गरी गण्डकी सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले नयाँ बोर्ड स्थापना गरे । उनले यातायात क्षेत्रमा जनताका गुनासो धेरै भएकोले सुधार गर्न सुझाए । ‘कार्यालय उही । कर्मचारी उही । बोर्ड मात्रै फेरेर परिवर्तन कसरी भयो भनेर गुनासो गर्न थालेका छन्, उनले भने–हामीले दिने सेवाबाट ब्यवस्था फेरिएको अनुभुति जनतालाई दिनुपर्छ । त्यसैले जनमुखि र छरितो सेवा प्रवाहमा ध्यान दिनुस् ।’

उनले अनाधिकृत रुपमा कार्यालयभित्र गलत प्रबृत्तिका मान्छे पस्ने र मनपरि फाईल चलाउने गरेको भन्दै यसलाई रोक्न निर्देशन गरे । मन्त्री बस्नेतले प्रदेश सरकार यतिबेला पर्ख र हेरको स्थितिमा रहेको उल्लेख गरे । ‘हामीलाई चाहिने कर्मचारी केन्द्र सरकारसँग मागेका छौं । तर नसुने झैं गरिरहेको छ, उनी भन्छन्–केही दिन कुरौं कर्मचारी पठाएन भने फरक बाटो रोज्नुपर्ने अवस्था आउँछ । हामी जसरी पनि कर्मचारी ल्याईछाड्छौं ।’ यसबाहेक धेरै अधिकारहरु प्रदेशमा आउन नसकेको उनले बताए । यातायात कार्यालयमा गण्डकी सरकारको बोर्ड राखिसकेकोले अवको जस अपजस सबै सरकारले ब्यहोर्ने उनी बताउँछन् ।

शुक्रबार नै सवारी लाईसेन्स कार्यालयमा पनि नयाँ बोर्ड राखिएको छ भने सेवा केन्द्र डुम्रे र बागलुङमा पनि नयाँ कार्यालय स्थापना गरिएको छ । नयाँ जिल्लाको रुपमा रहेको नवलपुरमा पूरै संरचना नयाँ बनाउनुपर्ने भएकोले केही दिनभित्रै त्यसको काम पूरा हुने मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए । उनले दिनहुँ कार्यालयको अनुगमन र दण्ड तथा पुरस्कारको ब्यवस्था गर्ने बताए । ‘जनताको असाध्यै धेरै गुनासो छ । अव एक्स्क्युज हुँदैन, उनले भने–धेरै मोनिटरिङ हुन्छ । गलत गरे तत्कालै कारबाही गर्छौं ।’ प्रदेशसभा सांसद प्रभा कोइरालाले जनताकै लागि संघीय ब्यवस्था लागू भएकोले सोही अनुसार कार्यान्वयन गर्न सुझाव दिईन् ।