मुस्ताङको थासाङ गाउँपालिका: न विद्युत न सञ्चार

थासाङ, माघ १३
मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको अधिकांश स्थान अहिले विद्युत र सञ्चार सेवाबाट पूर्ण रुपमा बिच्छेद छ । गत एक साता देखि थासाङ गाउँपालिकामा हिउँ पर्न सुरु भएको थियो । हिमपात पश्चात गत शुक्रबारदेखि विद्युत र सञ्चार सेवाबाट थासाङ गाउँपालिका बञ्चित छ ।
हिउँ पर्दा विजुलीका तारमा हिउँ जम्ने, तार लत्रेर रुख विरुवामा छुने हुँदा विद्युत प्रवाहमा समस्या भएको नेपाल विद्युत प्राधिकरण मुस्ताङका कार्यालय प्रमुख सन प्रसाद थकालीले जानकारी दिए । उनका अनुसार हिमपात पछि प्राविधिक समस्याकै कारण विद्युत प्रवाह रोकिएको हो । कोवाङबाट माथिल्लो भागमा भने विद्युत सेवा प्रवाह भईरहेको उनले जानकारी दिएका छन् । थासाङ गाउँपालिका अन्तरगतका तत्कालिन लेते र कुञ्जो गाविसमा पर्ने वडाहरु म्याग्दीको कार्यालयले विद्युत सेवा प्रदान गरिरहेको हुँदा उक्त स्थानमा मुस्ताङ कार्यालयले समाधान गर्न नसक्ने जानकारी दिए ।
हिउँ पर्दा होस् या पानी पर्दा मुस्ताङका अधिकांश स्थानमा विद्युत समस्या लचनचल्तीको समस्या हो । मुस्ताङमा हावा बढी चल्ने हुँदा पनि विजुलीका तारहरुलाई बेलाबेलामा समस्यामा पारिराखेको हुन्छ । त्यसबाट भौगोलिक कठिनाईले पनि मर्मत कार्य समयमा गर्न नसकिनु अर्काे कारण छ । हिमपात पछि समस्या आएको विद्युत सेवामा मर्मत कार्य भईरहेकाले मर्मत सकिनासाथ विद्युत सेवा प्रवाह हुने थकालीले बताए । उनले हिउँ परेकाले पनि मर्मत कार्यमा समस्या भईरहेको जानकारी दिएका छन् ।
विद्युतसँगै निकै समस्या दिने अर्काे सेवा भनेको मुस्ताङ सञ्चार सेवा पनि हो । मुस्ताङमा सञ्चालनमा रहेको सरकारी स्वामित्वको नेपाल टेलिकम र निजि स्वामित्वको एनसेलले सञ्चार सेवा दिईरहेको छ । अन्य स्थानमा निजि कम्पनी हावी भईरहेको अवस्थामा भने नेपाल टेलिकम नै प्रभावकारी सेवा प्रदायक संस्थाको रुपमा छ । तर पनि नेपाल टेलिकम पनि समस्याबाट मुक्त भने छैन ।
थासाङ गाउँपालिकामा शुक्रबारदेखि नै नेपाल टेलिकमको सेवा प्रभावित भएको छ भने एनसेलको भने पहिल्यै देखि नै समस्यामा थियो । नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले विद्युतको समस्याले गर्दा समस्या भएको बताएका छन् । उनका अनुसार हिउँ परेपछि विद्युत नहुँदा टावरहरु सञ्चालन गर्न नसकिएको जानकारी दिएका छन् । टावरहरुमा हिउँ जमेकाले पनि सरसफाईका कामहरु भईरहेको उनको भनाई छ । वैकल्पिक विद्युतका श्रोतहरु राख्दा पनि प्रभावकरी नभएको भुजेलले बताएका छन् । व्याट्री राख्दा विद्युत सेवा धेरै दिनसम्म प्रवाह रोकिदा चार्ज सकिएर काम गर्न नसक्ने र सोलार राख्दा पनि हिउँ वा बर्षा हुँदा काम नदिने हुँदा समस्या भएको उनको भनाई छ । त्यसमाथि पनि प्राविधिक र अन्य श्रोत साधानहरु केन्द्रीकृत पद्धतीमा हुने हुँदा आफुहरुले चाहेर पनि अनुकुलका कार्यहरु गर्न नसकिरहेको उनले बताएका छन् । थासाङसँगै वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकका केही वडाहरुमा पनि टेलिकमका सेवाहरु प्रभावित भएको भुजेलले जानकारी दिएका छन् ।
थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले आफुले पटक–पटक विद्युत प्राधिकरणसमक्ष ताकेता गर्दा पनि प्राविधकरणले जवाफ समेत नदिएकोमा गुनासो गरे । देश नै लोडसेडिङ मुक्त भईसक्दा पनि थासाङमा यसको अनुभुति गर्न नपाईएको उनको भनाई छ । जिल्लामा यति समस्या हुँदा सम्म पनि जिल्लाबाट चुनाव जितेर गएका मानीयहरुले चासो नदेखाएको भन्दै उनले जनताको समस्याप्रति जनप्रतिनिधि लगायत सम्बन्धित निकायहरु नै जवाफदेही हुन नसकेको उनले बताएका छन् ।
गाउँगाउँमा सिंहदरबार पुगेको वेला भने थासाङ गाउँपालिका भने कहिले विद्युत त कहिले सञ्चार सेवाबाट बञ्चिन हुन पुगेका छन् । विद्युतका नांगो तारहरु प्राकृतिक प्रकोपबाट बचाउन कति सम्भव होला तर पनि भुगोल मैत्री प्रविधि प्रयोग नगरिदा मुस्ताङ सानो भन्दा सानो प्राकृतिक विपत्ती आईपर्दा पनि ठूलो सेवाबाट बञ्चित हुनु पर्ने वाध्याता छ । टेलिकमले पनि उच्च हिमाली भेगमा प्रयोग गरिने सामानहरु भुगोल सुहाउँदो प्रयोग गर्न सकेको छैन । सुगम स्थानमा प्रयोग गरिने प्रविधिले हिमाली भेगमा कत्तिको समस्या पार्न सक्छ भन्ने सामान्य आँकलन पनि नगरी संरचना निर्माण हुँदा पनि जनतामा अनाहकको समस्या खेप्नु परिरहेको छ । बर्षाको झरी होस् या हिउँदको ठण्डी मुस्ताङीले सहज तरिकाले सरकारी सेवा पाउन सकिरहेका छैनन् ।