सँधै पहिलो सन्त !

प्रकाश ढकाल
पोखरा, असोज १५ ।
५ कक्षा पास हुँदा जिल्लामै पहिलो । १ देखि १० कक्षासम्म सँधै बोर्ड फस्र्ट । जन्मिनु बाहेक परिवारमा पनि कहिल्यै दोश्रो भएनन् । पहिलो बन्ने उनको जीवनी पढाईमा मात्रै सीमित भएन । जागिरे जीन्दगी पनि सँधै पहिलो बनेरै वितिरहेको छ । सन्तबहादुर लामिछाने, गोरखा मान्वुमा सामान्य परिवारमा जन्मे हुर्केका किसानका छोरा । घरको विहान बेलुकीको छाक टार्न पनि कठीन हुने परिवारमा पढेर परिचित हुने सपना कमैको हुन्छ । ‘म सानै छँदा बुबालाई गुमाएँ । घरबार चलाउन आमालाई साह्रो पथ्र्यो, विगत सम्झिएर सन्त भन्छन्–कहिलेकाहीँ त पछाडी फर्किन पनि मन लाग्दैन । तर अठोट भए जितिन्छ भन्ने प्रमाणित गरेको छु ।’

गोरखाको साविक मान्बु गाविस वडा नम्बर ४ कटुञ्जेमा २०४५ सालमा जन्मिएका सन्तबहादुर नेपालका एकमात्रै जाईरोकोप्टर (लाईट हेलिकोप्टर) पाईलट हुन् । गाउँकै भवानी माविमा एसएलसी सम्मको पढाई सकेर काठमाण्डौं हानिएका उनी अमृत साईन्स क्याम्पसमा आईएससी पढ्न भर्ना भए । आईएससी सकेपछि नेपालमा पाईलट सिकाउँछ भन्ने सुनेर पोखरातिर मोडिए । ‘पाईलट बन्ने सपना सानैदेखिको हो । घरको कमजोर आर्थिक अवस्था देखेर कसैसँग भन्ने आँट नै आएन, उनले थपे–साथीहरुसँग कहिलेकाहीँ शेयर गर्थें । पछि उनीहरुले नै भनेर पोखरा आएको हुँ ।’ त्यतिबेला पोखराको एभिया क्लव नेपाल नामक हवाई संस्थाले भर्खर अल्ट्रालाईट पाईलटको तालिम दिन थालेको थियो । सन्त तालिमको पहिलो ब्याचबाट उत्पादन भएका पहिलो नेपाली पाईलट हुन् ।‘पाईलट सिक्दा एकजनाले उतिबेलै १३ लाख हाराहारीमा तिर्नुपथ्र्यो । मसँग त्यत्रो पैसा कहाँबाट हुनु, उनी भन्छन्–पाईलट बन्ने निधो गरेर क्लवसँग रिक्वेस्ट गरें । पछि कमाएर तिर्ने शर्तमा कम्पनीसँग सम्झौता गरेर तालिम थालेको हुँ ।’ सन् २००९ मा तालिम लिँदा उनको ब्याचमा ३ जना नेपाली सहित थप ३ जना विदेशीहरु सहभागी थिए । तर कसैले पनि पाईलटको कोर्स पास गर्न सकेनन् । ६ जना तालिमे मध्ये आँफु नै पहिलो भएको उनी सुनाउँछन् । ‘तालिमको लागि भनेर २००७ मै पोखरा आएको थिएँ । तर त्यतिबेला ट्रेनिङ स्कुल सुरु नै भएको थिएन, उनले भने–२ बर्षसम्म मेकानिक भएर कम्पनीमै काम गरें । अनि तालिम खुलेपछि भर्ना भएको हुँ ।’ २ बर्ष पूरा तालिम गरेपछि उनी अल्ट्रालाईट पाईलट भए । २०१२ देखि ब्यवसायिक रुपमा उडान थालेका उनले ५ बर्षको अवधीमा ६ हजार ५ सय पटक पोखराको आकाशमा यात्रु डुलाएका छन् ।अल्ट्रालाईट उडाएको छोटो समयमै उनी आँफै पाईलट उत्पादन गर्ने भैसके । सन्तको प्रशिक्षणमा उत्पादन भएका पोखरामा ५ जना पाईलट छन् । ति पाँच मध्ये एकजना उनका सहोदर भाइ पनि छन् । ‘अलिअलि कमाउन थालेपछि घरको जिम्मेवारी आफ्नै काँधमा पर्यो । भाइहरुको ब्यवस्थापन गर्ने काम पनि मेरै थियो, परिवारमा साईंला छोराको रुपमा जन्मिएका उनी भन्छन्–त्यसैले एउटा भाइलाई अल्ट्रालाईट उडाउन सिकाएँ । अहिले उ पनि प्रोफेसनल भैसक्यो ।’ उनका भाई भीमले दाजुकै बाटो पछ्याईरहेका छन् । भाइले नै पाईलट बन्ने मन गरेकोले सन्तले पनि उनलाई सँधै सघाए । भाई भीम समेत अहिले अल्ट्रालाईटको प्रशिक्षक पाईलट बनिसकेका छन् ।अल्ट्रालाईटबाट सन्तले जाईरोकोप्टरतिर फड्को हानिसके । उनी नेपालमा पहिलो र एकमात्र जाईरोकोप्टर (लाईट हेलिकोप्टर) को पाईलट हुन् । यसबाहेक हेलि एयर कम्पनीको अपरेसन डाईरेक्टर र प्राविधिक समेत हुन् । पोखरा छिर्दाताका नै उनले आफ्नो पढाई पनि पोखरै सारे । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत सन्त अहिले हवाई क्षेत्रमा मज्जासँग जमिरहेका छन् । तालिमको क्रममा भरतपुर, भैरहवा लगायत सबैजसो एयरपोर्टहरुमा उडान भरेका छन् ।