पुर्व मेयरको यौन प्रश्ताव नमान्दा जागिर खोसिएको पत्रकार प्रजापतिको आरोप, के भने स्थापितले ?

काठमाण्डौं, कार्तिक ९ ।
विश्वभरी फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ । मि टु मुभमेन्टमा सहभागी हुँदै पत्रकार रश्मिला प्रजापतीले काठमाण्डु महानगरपलिकाको पुर्व मेयरले आफूलाई यौन दुव्र्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् ।

तर, मुभमेन्ट अन्तर्गत भने उनले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् ।

उनलाई प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाण्डु महानगरपालिका पूर्व मेयर केशव स्थापितले ह्यारेस गरेको बारे लेखिन् । केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन् ।

उनले लेखेकी छिन् ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाहा छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’

साथै उनले आफू स्थापितबाट यौन हिंसामा परेको विषय यसअघि नै लेखेको बताइन् । उनले भनिन्, ‘उनको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाएको पनि लेखेकी थिएँ ।’

यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन् ।

उनको आरोपमाथी मन्त्री स्थापितले आफूमाथि लागेको आरोप झुटा भएको प्रतिक्रिया दिए । उनले आफूलाई यौन हिंसाको आरोप लगाउन रश्मिला प्रजापतिविरुद्ध मानहानीको मुद्धा लगाउने तयारी गरेको बताए ।

प्रजापतिलाई यौन हिंसाको आरोप पुष्टी गर्न चुनौती दिँदै मन्त्री स्थापितले कानुनी कारबाहीको बाटो रोज्ने तयारी थालेको बताए । उनले आफू हेटौंडाबाट प्रजापतिविरुद्ध मानहानीको मुद्धा हाल्न काठमाण्डु आएको बताएका छन् । उनले भने, ‘हिंसाको आरोप यो भन्दा अगाडि दुई पटक खेपि सकें । अब उहाँविरुद्ध मानहानीको मुद्धा हाल्ने हो ।’

उनले महिला हुँदैमा जथाभावी बोल्न नहुने भन्दै यसको समाधान कानुनी उपचार मात्र भएको बताएका छन् । प्रजापतिले आफूले यौन प्रस्ताव नमान्दा जागिरबाट निकालिएको बताए पनि स्थापित भने यसको प्रतिवाद गर्छन् । उनले १५ वर्षअगाडि आफू मेयर हुँदा करारमा रहेकी प्रजापतिसहित अन्य कर्मचारी पनि निकालिएकाले उक्त आरोप झुटो भएको दाबी गरेका छन् ।

प्रजापतिले सामाजिक सञ्जालमा स्थापितले आफूमाथि यौन हिंसा गरेको र यौन प्रस्ताव पनि गरेको सार्वजनिक गरेकी छिन् ।