मुस्ताङमा सरकारविरुद्ध प्रदर्शन

मुस्ताङ, माघ २१
मुस्ताङमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंहगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको हो ।
मुस्ताङमा पनि कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाल विद्यार्थी संघ, तरुण दल लगायत दलसँग आबद्ध व्यक्तित्वहरु आवद्ध थिए ।
‘निर्मलालाई न्याय दे’, ‘वाईडवडी काण्डका दोषीलाई कारवाही गर’, ‘संसदीय अधिनयाकवाद अन्त्य गर’, ‘मुल्यबृद्धि फिर्ता गर’ लगायतका नारा सहित जोमसोम एयरपोर्ट देखि जिल्ला प्रशासन कार्यालय अगाडीसम्म ¥याली गरी कार्यक्रम कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेपाली कांग्रेस जिल्ला सचिव तथा वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले विकास निर्माणका कार्यमा सरकारले प्रभावकारी प्रगति गर्न नसकेको बताए । गाउँ–गाउँमा सिंहदरबार भनिएपनि स्थानीय सरकारका अधिकाशं निकायहरुमा कर्मचारी नहुँदा त्यसको प्रत्याभुति जनताले गर्न नपाएको गुरुङको भनाई छ ।
सभामा बोल्दै स्थानीय नेता दिनेश थकालीले ३३ किलो सुनकाण्डको सत्यतथ्य छानविन गन नसकेको भन्दै सरकारको आलोचना गरे । विकास निर्माणका काम भन्दा पनि सरकारले ठूला गफ मात्र दिने गरेको उनले बताए ।
सकारकाले एकतर्फी रुपमा मनपर्दी ढंगले गरेको निर्णयले देशमा आतंक मच्चाउने काम गरेको यूवा नेता अभिनास थकालीले बताए । विकास योजनाका कार्य, स्थानीय स्तरमा हुने गतिविधि तथा कुटनितिक सम्बन्ध सन्तुलन गर्न नसकेको उनको आरोप छ । मुस्ताङको परिवेशमा विद्युत तथा सञ्चार सेवाबाट नै जनताहरु हप्तौं बञ्चित हुँदा पनि जनप्रतिनिधिहरुले चासो नदिएकोमा गुनासो गरे । सकारले विवादास्पद ईसाई धर्मको कार्यक्रममा सहभागी भएर धार्मिक असहिष्णुता निम्त्याउन खोजेको थकालीले बताए ।
कांग्रेसले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण प्रदर्शन गरेको बताएको छ । आफ्ना मागहरु बेवास्ता गरे आफुहरु जोडदार रुपमा प्रस्तुत हुने जानकारी दिएको छ ।
मुस्ताङमा शान्तिपूर्ण रुपमा प्रदर्शन कार्यक्रम भएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।