Breaking-पोखरामा नेविसंघ र प्रहरीबीच झडप

पोखरा, कार्तिक २६ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थी र प्रहरी बीच झडप भएको छ । कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनरत नेविसंघले सोमबार क्याम्पस अगाडी प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रममा झडप भएको हो । पुत्ला जलाउन नपाउँदै प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको नेविसंघका नेता सागर सापकोटाले बताए । ‘शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका थियौं । प्रधानमन्त्रीको पुत्ला जलाउन नपाउँदै प्रहरीले खोस्यो, उनले भने–हामीले पनि त्यसको प्रतिबाद गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । विद्यार्थीले पनि ढुंगा बर्साए ।’

उनका अनुसार नेविसंघ केन्द्रिय सदस्य गोपाल गुरुङ, पिएन क्याम्पसका सभापति रेशम हमाल, नेविसंघ नेताहरु अनिश पाण्डे र विकास खत्रीलाई सामान्य चोट लागेको छ । प्रहरीले चाहीँ घटना सामान्य भएको बताएको छ ।

कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले पुत्ला जलाउन नदिएपछि विद्यार्थीले क्याम्पस गेट भित्रबाट प्रहरीमाथी नै ढुंगामुढा प्रहार गरेको बताएका छन् ।