Breaking-दीपक मनाङेले आज सपथ लिँदै

पोखरा, माघ १४ ।
प्रदेशसभामा सपथकोे निवेदन दिएको एक महिनापछि राजीव गुरुङ उर्फ दीपक मनाङेको सपथग्रहणको तयारी गरिएको छ । उनलाई सोमबार प्रदेशसभा भवनमा सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराउन लागेका हुन् ।

यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथ खुवाउन नमिल्ने प्रतिक्रिया दिएका सभामुख अधिकारीले पुनः कानुनी राय र परामर्श लिई सपथ खुवाउन लागेका हुन् ।

मनाङेको सपथसँगै गण्डकी प्रदेशमा एकजना प्रदेशसभा थप भएका छन् । गतसाल मंसिर १० गतेको पहिलो चरणको प्रदेश तथा प्रतिनिधीसभाको चुनावमा उनी निर्वाचित भएका हुन् ।

राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन् । निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका छैनन् ।

शपथ लिनुअघि नै उनी कारागार चलान भए । नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर मुद्धा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते कारागरमुक्त भएका हुन् ।