पोखरा, वैशाख १७ ।

भ्रष्टाचार विरुद्धको बोली बोल्ने नेपाली कथानक चलचित्र १०० कडा १० को पोखरामा छायांकन सुरु भएको छ । फिल्मको सोमबारदेखि पोखरा लेखनाथ महानगरपालिका वडां. नं. ८ प्रतिभामार्ग सिमलचौबाट सुरु गरिएको हो । ९० प्रतिशत पोखरा १० प्रतिशत जोमसोममा छायांकन गरिने फिल्मको निर्देशन रामशरण पाठकले गरेका हुन् भने रजु प्रधान र उत्तम खत्रीको लगानी रहेको छ । दर्शन नेपाल क्रियसनको व्यानरमा करिब डेढ करोडको लगानीमा निर्माण गरिन लागेको फिल्ममा दुई वटा गीत समावेश गरिएको छ ।

फिल्ममा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, सोनिया राई, उत्सव न्यौपाने, अमृत पोखरेल, लक्ष्मी भट्ट, रवी डङ्गोल लगायतको अभिनय रहेको छ । फिल्ममा करप्सन भर्सेस लभ रहेको प्रोडक्सन डिजाईनर माधव पण्डितले जानकारी दिए । उनका अनुसार फिल्मे समाज व्याप्त भ्रष्टाचार विरुद्ध बोली बोल्ने छ । फिल्ममा सहनिर्माता साजन थापा, नृत्य निर्देशक दिलिप ओखेडा, रमेश कार्कीको छायांकन, ललित विष्टको मुख्य सहायक निर्देशन, सुदिप पौडेलको सहनिर्देशन र भेषभूषामा जीवन पोखरेल रहेका छन् ।

यसैबीच फिल्म यूनिटलाई सोमबार पोखरामा मितेरी आमा समुहले स्वागत सहित फिल्मको सफलताको शुभकामना व्यक्त गरेका छन् । मितेरी नारी समुहले फिल्म यूनिटलाई सयपत्रीफुलको मालाले स्वागत गरेका हुन् । स्वागत र्काक्रममा बोल्दै कलाकार तथा वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले १०० कडा १० नेपाली समाजलाई फिट हुने चलचित्र बन्ने बताए । चलचित्रले भ्रष्टाचारीलाई सदाचारी बनाउने उनको विश्वास छ । चलचित्रका अर्का कलाकार राजाराम पौडेलले चलचित्रले सोर्चामा परिवर्तन ल्याउने भएकोले मनोरञ्जनको लागि मात्र नभए देशमा परिवर्तन ल्याउने खालको चलचित्र बन्न लागेको बताए । पोखरामा चलचित्र छायांकनको संयोजन सामाजिक अभियन्ता तथा पोखरा लेखनाथ वडा नं. ५ का वडासदस्य अञ्जु केसीले गरेकी छिन् ।