डोटी, वैशाख ९ ।

डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पतालबाट थप उपचारका लागि नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा नै २ जनाको ज्यान गएको हो । ज्यान जानेमा शिखरनगरपालिका ८ लाटामाडौं बस्ने वर्ष ३५ की झाकरी भुल तथा त्यही नगरपालिका ३ बस्ने वर्ष २८ की धौलीदेवी भुल छन् । यसअघि शनिबार दिउँसो घटनास्थलमा नै तीन जनाको ज्यान गएको थियो भने १६ जना गम्भीर घाइते भएका थिए ।

मृतकहरुको शव अहिले दिपायल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । अन्य १४ जना गम्भिर घाइते मध्ये केहीको नेपालगञ्ज मेडिकल कलेज तथा केहीको दिपायलको शैलेस्वरी अस्पतालमा उपचार भइरहेको छ । शैलेस्वरी अस्पतालमा उपचार भइरहेका केही गम्भीर घाइतेलाई थप उपचारका लागि अहिले तत्कालै नेपालगञ्ज मेडिकल कलेज रिफर गर्ने तयारी भईरहेको शैलेस्वरी अस्पतालका निर्देशक आईजंग कुँवरले जानकारी दिनु भयो । शनिबार दिउसो दिपायल बाट शिखर नगरपालिका ३ जोरागाउ जान लागेको ग १ ख ५२७५ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।