यूएस–बंगला विमान दुर्घटनाका पीडितले हाले मुद्दाः २ अर्बभन्दा बढी क्षतिपूर्तिको माग दाबी

 

काठमाडौं, साउन १५ ।

यूएस–बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका ७ जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।

सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटना हुँदा मृत्यु भएका ७ जना एमबीबीएस विद्यार्थीका हकवाला तथा तिनका बाबुआमाले वायुयान धनी सञ्चालक कम्पनीविरुद्ध २ अर्ब १० करोड रुपैयाँ (अर्थात् १९ मिलियन ९० हजार डलर) भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

 

दुर्घटना भएको १६ महिनासम्म पनि कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय कानुनअनुसार मागदाबी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरेकाले बाध्य भई पीडितहरुले न्यायालयमा मुद्दा दायर गरेको मुद्दा हेरिरहेका अधिवक्ता अमृत खरेलले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जसमा २० जना वादी रहेको उनले बताए ।

 

युएस बंगलाको विमान बंगलादेशको ढाकाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार ७१ यात्रुमध्ये ५१ जनाको मृत्यु भएको थियो । जहाजमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभियन यात्रु थिए भने बाँकी बंगाली क्रु मेम्बर थिए ।
पीडित मध्येका सात जना यात्रुका परिवारका तर्फबाट विदुरमान श्रेष्ठले रिट दायर गरेको जनाइएको छ ।

 

अदालतले आदेश दिएको अवस्थामा नेपाल सरकारले नै क्षतिपूर्तिको लागि आवश्यक पहल गर्नुपर्ने अधिवक्ता खरेलको भनाइ छ । नेपाल सरकारद्वारा पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित जाँचबुझ आयोगले पाइलटको कमजोरी किटान गरिएको छ भने कम्पनीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको ट्राफिक कन्ट्रोललाई दोष दिएको थियो । (ईमेजखबरबाट साभार)