७० प्रतिशत जनता लोकतन्त्र प्रेमी–चालिसे

पोखरा, मंसिर ४ ।
काँग्रेसका बौद्धिक नेता देवराज चालिसेले ७० प्रतिशत जनताले लोकतन्त्रलाई विश्वास गर्ने बताएका छन् । कास्की क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार समेत रहेका उनले जनताकै साथले काँग्रेसको बहुमत आउने दावी गरे । ‘सत्तरी प्रतिशत भन्दा बढी नेपाली लोकतन्त्रमाथी आस्था राख्छन् । उनीहरुलाई आफ्नो भविष्यको चिन्ता छ, उनी भन्छन्–भविष्यको ख्याल गर्ने नेपालीले काँग्रेसलाई भोट हाल्छन् । हामी बहुमत सहित सरकार निर्माण गर्छौं ।’
जनताको आड र भरोसा काँग्रेससँग भएको भन्दै उनले काँग्रेस विकासबाट भाग्न नसक्ने बताए । ‘देशका लागि काँग्रेस चाहिएको छ । विकासका लागि काँग्रेस चाहिएको छ, उनले भने–हामी विकासमा राजनीति गर्दैनौं । राजनीतिले विकास गर्छौं ।’ कम्युनिष्ट जस्तो जनतालाई तर्साउन काँग्रेसले नजानेको भन्दै चालिसेले हरेक जनताका सुखदुखमा साथ दिने प्रतिबद्धता जनाए ।
चुनावी एजेण्डा सहित मतदाताको घरदैलोमा पुगेका उनी समृद्ध मुलुकका रुपमा स्थापित गर्न काँग्रेसको सरकार अपरिहार्य भएको बताउँछन् । चालिसेले आईतबार पोखरा ७ मासवार, रत्नचोक, पोखरा २० भलामका विभिन्न टोलहरुमा मतदातासँग मत मागे ।