६ दलको लोकतान्त्रिक गठवन्धन तयारी

काठमाडौं, असोज १८ ।
नेपाली कांग्रेसले लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि काँग्रेसले अन्य ५ वटा दललाई एकै ठाउँमा बटुलेर नयाँ गठबन्धन तयारी थालेको हो ।
चुनावी तालमेल सहित न्युनतम सहमति गर्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको कांग्रेस सहित ६ दलको बैठकले ७ सदस्यीय समिति बनाएर सहमतिको लागि अघि बढ्ने निर्णय गरेको छ । कांग्रेसको पहलमा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा), राप्रपा प्रजातान्त्रिक, राप्रपा र फोरम लोकतान्त्रिकको बैठक बसेको थियो ।
संयोजन समितिमा कांग्रेसबाट २ जना सदस्य र अन्य दलबाट एक एक जना सदस्य रहने राजपा नेता राजेन्द्र महतोले बताए । ‘७ सदस्यीय संयोजन समिति बनेको छ’, महतोले भने, ’सबै लोकतान्त्रिक शक्तिहरुबीच एकता तथा तालमेलको पहल गरेर जाने सहमति भएको छ ।’
लोकतान्त्रिक गठबन्धन बनाउनु समयको आवश्यकता भएको नेताहरुको भनाई छ । लोकतान्त्रिक शक्तिहरुबीच छिट्टै एकता र तालमेलको घोषणा गर्ने तयारी भैरहेको बैठकमा सहभागी नेताहरु बताउँछन् ।
यद्यपी कार्यदलमा कोको रहने भन्ने भन्ने टुंगो लागेको छैन । कार्यदलमा रहनेको नाम भोली भित्र दिने र एकता, तालमेलको लागि न्युनतम आधार तयार पार्ने तयारी भएको छ । बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले वृहत लोकतान्त्रिक गठवन्धन बनाएर अघि बढ्नु पर्ने भन्दै तालमेलको लागि दलहरुसँग आग्रह गरेका थिए ।