५ महिनामा गण्डकी प्रदेशमा ५ सय भिआईपीको भ्रमण

पोखरा, माघ १५ ।
गण्डकी प्रदेशमा चालु आवको ५ महिना अवधिमा ४ सय ८२ जना भीआइपीको भ्रमण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुस मसान्तसम्म केन्द्रका भीआइपी र भीभीआइपी ३ सय ५ र प्रदेश १ सय ७७ भीआइपी सहित ४ सय ८२ जनाले प्रदेशको भ्रमण गरेको प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रदेशमा प्रहरी जनशक्ति अभाव रहेको बताए । उनले भीआइपी र भीभीआइपीको प्रदेशमा भ्रमण हुँदा जनशक्तिसहित स्रोत साधनको व्यवस्थापनमा कमी हुने गरेको औंल्याए ।

‘सके छुट्टै भीआइपीको सुरक्षार्थ प्रहरी जनशक्तिको समेत व्यवस्था भइदिए राम्रो हुनेछ,’ उनले भने, ‘जनशक्तिको खटनपटन प्रदेश मातहतको दरबन्दीबाट गरिए पनि स्कर्टिङलगायत अन्य स्रोतसाधनको व्यवस्था विमानस्थलमै भइदिए राम्रो हुने थियो ।’

प्रदेश सरकारका विशिष्टको सुरक्षार्थ नेपाल प्रहरीको १ सय २१ जना जनशक्ति परिचालन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी सहायक उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको उल्लेखित जनशक्ति परिचालन भएको पुरीले बताए ।

उनका अनुसार गण्डकी प्रदेश मातहत ७ हजार १७ जना प्रहरी दरबन्दी कायम छ । यस प्रदेशमा प्रहरीको हाजिरी संख्या भने ४ हजार ६ सय ८३ जनाको मात्र छ । २ हजार ३ सय ३४ जनाको दरवन्दी रिक्त छ ।

प्रदेशको संरचनाअन्तरगत प्रहरी इकाइको स्तरवृद्धि र नयाँ इकाइ स्थापनाका लागि गण्डकी प्रदेशलाई थप ५ हजार ३ सय ३६ जनाको जनशक्ति आवश्यक रहेको पुरीको रिपोर्टले देखाउँछ । हालको जनशक्तिअनुसार प्रतिप्रहरीले ४ सय ४७ जनालाई हेर्नुपर्ने हुन्छ ।

प्रदेशभित्र हाल २ सय ७५ प्रहरी इकाइ छन्। स्थायीरुपमा कार्यरत प्रहरी इकाइ २ सय ६८ छन्। मर्ज भएर स्थापना हुन बाँकी २ वटा प्रहरी चौकी छन्। फुगाउँ र थ्रोङफेदी प्रहरी चौकी मर्ज भएर पनि स्थापना हुन बाँकी रहेको छ ।

यस्तै, दरबन्दी निकासा भएर पनि स्थापना हुन बाँकी ५ प्रहरी चौकी छन् । कास्कीको नगर प्रहरी कार्यालय र माटेपानी प्रहरी चौकी, गोरखाको चुन्चेत, बिही र ल्हो प्रहरी चौकी स्थापना हुनै बाँकी छन् । प्रदेशभित्र २० वटा प्रहरी पोष्ट, २ वटा प्रहरी बिट, २६ वटा ट्राफिक प्रहरी पोष्ट र ९ वटा कन्ट्रोल रुम भेहिकल, सीआरभी छन् ।

प्रदेश प्रहरीअन्तर्गत १ सय ६४ जग्गा तथा १ सय २० आफ्नै कार्यालय छ भने ७२ वटा जग्गा र १ सय १६ वटा आफ्नो कार्यलय नरहेको भौतिक पूर्वाधारको अवस्थामा छ । ६ जिल्ला ट्राफिक प्रहरी कार्यालय, १ वडा प्रहरी कार्यालय, १ नगर प्रहरी कार्यालय, १९ इलाका प्रहरी कार्यालय, ६ सीमा प्रहरी चौकी, ७३ प्रहरी चौकी, ३ अस्थायी प्रहरी पोष्ट गरी १ सय ९ वटा प्रहरी युनिट भाडामा बस्दै आएको प्रदेश प्रहरी कार्यालयले जनायो ।