५ करोड ठगी गर्ने अस्पतालका सञ्चालक पक्राउ

पर्सा, जेठ २८ ।
पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ । वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले विभिन्न मितिमा ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड ७७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।

अस्पताल बनाउन भनेर लिएको ऋण सर्राफले नतिरेको प्रहरीले जनाएको छ। रकम ठगी गरेका सर्राफ पछिल्लो समय फरार भएका थिए ।