५१ करोड हिनामिना गरेको आरोपमा नेपाल रेडक्रसविरुद्ध उजुरी

काठमाण्डौं, जेठ २३ ।
नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले थाइल्यान्डमा रहेको नेपाली दूतावासमार्फत् नेपाल रेडक्रसविरुद्ध उजुरी दिएको हो ।

थाई रेडक्रसको उजुरी परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको छ । उजुरी परेलगत्तै काठमाडौं प्रशासनले अध्यक्ष थापासहितका पदाधिकारीमाथि छानबिन थालेको छ ।

थाई रेडक्रस सोसाइटीबाट प्राप्त ४२ करोड र रेडक्रसको केन्द्रीय गोदाम घर निर्माणका लागि भक्तपुरको खरिपाटीमा खरिद गरिएको जग्गामा झन्डै ६ करोड ३२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नेपाल रेडक्रसविरुद्ध उजुरी परेको हो । उजुरीमाथि छानबिन जारी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।