५० करोड ठगेर बेपत्ता जैसवाल भेटिईन् (घटनाको विवरण सहित)

पोखरा, असोज २२ ।
मुल सकडबाट भित्र सानो गल्ली । गुफा जस्तै ठाउँमा साँघुरो पुरानो घर । त्यो घरको पनि साना २ कोठा । त्यही सानो कोठामा पहिचान लुकाएर जेठ १५ गतेदेखि बसेका रहेछन् उनीहरु ।
मुसा दुलोमा लुके झै गरी अभियुक्त देवीकुमारी भुजेल र उनका पति लक्ष्मण काठमाडौं न्युरोड नजिकै जैसीदेवलमा बसेका रहेछन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी र केही पीडित देवीको खोजीमा बिहीबार बिहान काठमाडौं पुगेका थिए ।
उनीहरु देवी बसेको कोठमा पुग्न निकै कठिन भयो । त्यस्तो ठाउँमा पूरै बन्दबस्त मिलाएर बसेको देख्दा अच्चम परेको एक पीडित स्रोतले बतायो । ‘पोखराबाट पैसा खाएर भाग्ने पूरै योजना तयार पारेर काठमाडौमा डेरा लिएको प्रष्ट हुन्छ,’ स्रोतले भन्यो, ‘डेरामा पुग्न पनि निकै गाह्रो र निउरेर भित्र पस्नु पर्ने त्यस्तो ठाँउमा लुकेर बसेका थिए ।’
कास्की प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग मागेर बिहीबार साँझ ४ बजे देवी र उनका पति लक्ष्मणलाई पक्राउ गरे । शुक्रबार ११ बजे बिहान दम्पत्तिलाई बुद्ध एयरबाट पोखरा ल्याइयो । देवीको २ छोरी र १ छोरालाई पीडित पक्षले ल्याएर चाउथे स्वागतनगरमा रहेको घरमा छाडे । जुन घर देवीले अर्कोलाई बेचेर घरको माथिल्लो तल्लामा डेरामा बस्ने गर्थे ।
देवी भागेपछि धेरैले विदेश गएको अनुमान गरेका थिए । पीडितहरुले देवी पक्राउ पर्लिन भन्ने आशा नै गरेका थिएनन् । तर, देवीले प्रयोग गरेको पुरानो फोन कलको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भयो । देवी हराएको केही दिन पछि महेन्द्रपुलका औषधी व्यवसायी दण्डपाणी सुवेदीसँग सम्पर्कमा आएपछि कास्की प्रहरीले पक्राउ गर्ने योजना बनाएको हो ।
त्यसपछि प्रहरीले सुवेदीकै सहयोगमा देवीलाई पक्राउ र्गयो । पटक–पटक देवीसँग भएको फोन सम्पर्कका कारण प्रहरीले सुवेदीमाथि पनि शंका उब्जाएको थियो । त्यही भएर कास्की प्रहरीले सोधपुछको लागि सुवेदीलाई पनि हिरासतमा राखेको छ ।
स्याङ्जा भाटखोला घर भइ चाउथे बस्ने ४२ वर्षीया देवी र उनका श्रीमान भदौ १४ गते बेपत्ता भएका हुन् । उनीहरुले व्यवसायी आफन्त र चिनजानका ५० जनाभन्दा धेरैसँगबाट करिब ५० करोड भन्दा बढी रकम ठगेको आरोप लागेको हो । तीमध्ये केहीले जिल्ला प्रहरी कार्यालयमा देवी र उनका श्रीमान विरुद्ध किटानी जाहेरी समेत दिएका छन् ।
देवीले पोखरामा जग्गाको कारोबार गर्थिन् । उनका पति लक्ष्मण थापा भने भारतीय सेनाका पेन्सनर हुन् । चाउथेमा घर जग्गा अनि गाडी देखाएर धेरैजनालाई फसाएर उनीहरु भाग्न सफल भएकी हुन् । देवीले धेरैसँग पैसाको लेनदेन गरेर मन जितेकी थिइन् ।
त्यसैको फाइदा उठाउँदै धेरैको रकम खाएर उनी भागिन् । त्यति मात्र होइन देवीले जसलाई घर बेचिन् । उनीहरुसँगबाट समेत उनले रकम ठगेकी थिइन् । वैशाखमा देवीको घर किनेका शोभा लम्सालका पतिसँग देवीले १० लाख रुपैयाँ सापटी लिएर भागेकी हुन् ।
केही महिना अघिदेखि पोखराबाट भाग्ने योजना बनाएकी देवीले पछिल्लो चरणमा समेत धेरैजनासँग रकम लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए ।
‘शुक्रबार काठमाडौंबाट ल्याएका छौं,’ उनले भने, ‘हिरासतमा राखेर थप अनुसन्धान गरी रहेका छौ ।’ शुक्रबारनै अदालतबाट म्याद थप गरी अन्य प्रक्रिया अगाडि बढाएको डिएसपी खत्रीले बताए ।
पत्रकार अर्जुन गिरीले समाधान दैनिकका लागि लेखेका हुन् ।