४ लाख नगदसहित १० जुवाडे पक्राउ

सुनसरी, कार्तिक २८ ।
सुनसरीको धरान उपमहानगरपालिका–८ सिद्धार्थ मार्गबाट प्रहरीले ठूलो रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

झापाको लखनपुर गाउँपालिका–१ घर भई हाल धरान–१० का ३५ वर्षीय भरत थापा, सुनसरीको घुस्की–८ घर भई हाल धरान–९ बस्ने ३९ वर्षीय उमेश सोमी, धरान–२० बस्ने २५ वर्षीय राजु खड्का, धरान–११ बस्ने ३१ वर्षीय तुलाराम राई, ३६ वर्षीय रवीकुमार राई, इटहरी–४ बस्ने ३७ वर्षीय गुणराज राई, धरान–१७ बस्ने ३५ वर्षीय सञ्जय राई, ईटहरी–२० बस्ने २६ वर्षीय मिलन राना साम्पाङ राई रहेका छन् ।

धरान–१८ बस्ने ४० वर्षीय मिलन गुरुङ र धरान–१५ बस्ने २७ वर्षीय सञ्जु राईलाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट ३ बुङ ताससहित ४ लाख ८ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका १० जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि अनुसन्धान भइरहेको छ ।