४ नम्बर प्रदेशमा काँग्रेस बलियो (जिल्लागत विवरण हेर्नुस्)

पोखरा, कार्तिक ८ ।
प्रदेश ४ का ११ जिल्लामध्ये ६ जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका यी जिल्लामा ८ निर्वाचन क्षेत्र छन् । ६ जिल्लामा कुल ४६ वटा स्थानीय तह छन् । जसमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले २४, नेकपा एमालेले १४, माओवादी केन्द्रले ४, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एकएक ठाउँमा नेतृत्व गरिरहेका छन् ।
२०७० सालको निर्वाचनमा पनि यहाँका ११ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ६, माओवादीले ३ र एमालेले २ क्षेत्रमा जितेको थियो । दुवै निर्वाचनले कांग्रेसलाई बलियो साबित गर्छ । वामपन्थी गठबन्धनका तर्फबाट एमाले र माओवादीका ४÷४ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट भने ७ ठाउँमा नेपाली कांग्रेसका र एक ठाउँमा नयाँ शक्तिका तर्फबाट प्रतिस्पर्धा हुँदैछ ।
मत विश्लेषण गर्दा सम्बन्धित दलका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा पाएको मतलाई मुख्य आधार मानिएको छ । त्यस्तै, २०७० मा सम्पन्न संविधानसभाको मत परिणामलाई समेत सन्दर्भमा लिइएको छ । अर्कोतर्फ स्थानीय तहको निर्वाचनमा गरिएको तालमेलबाट प्राप्त भएको मतलाई यहाँ प्राथमिकता दिइएको छैन । जिल्लागत रुपमा कुन बलियो ?
मुस्ताङः प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा ५ स्थानीय तह रहेका छन् । जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले १ र स्वतन्त्र उम्मेदवार १ ठाउँमा विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा माओवादीको खासै प्रभाव देखिएको थिएन । स्थानीय तहको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले २ हजार ६ सयभन्दा बढी मत पाएको थियो भने एमालेले २ हजार मत पनि पुर्याएको थिएन । यहाँ एमाले र माओवादीको मत जोड्दा कांग्रेससँग हाराहारी हुन आउँछ । ती मतदातालाई आफैंतिर जोगाइराख्न कतिको सम्भव हुन्छ, त्यसैले नतिजामा भूमिका खेल्छ ।
मनाङः यहाँबाट पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । जिल्लाका कुल ४ स्थानीय तहहरुमध्ये कांग्रेस र एमालेले २÷२ वटा स्थानीय तहमा विजयी भएका थिए । र, मुख्यतः यहाँ यिनै दुवै दल बलिया मानिन्छन् । माओवादी यहाँ पनि नतिजामा प्रभाव पार्नेगरी शक्तिशाली छैन । ४ मध्ये नारफु गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । बाँकी ३ तहमा एमालेका उम्मेदवारले कुल १ हजार ३ सयभन्दा केही बढी मत पाएका थिए। त्यस्तै, कांग्रेसले भने १ हजार २ सयभन्दा केही बढी मात्रै मत पाए ।
म्याग्दीः जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । यहाँका कुल ६ स्थानीय तहमध्ये नेपाली कांग्रेस ४ र नेकपा एमाले २ ठाउँमा नेतृत्व गरिहेका छन् । ०७० सालमा सम्पन्न संविधानसभाको चुनावमा भने नेकपा एमालेले विजय हासिल गरेको थियो । स्थानीय तहका निर्वाचनमा एमालेले जिल्लामा २० हजार १ सय भन्दा बढी मत पाएको थियो । त्यस्तै नेपाली कांग्रेसले भने १६ हजार मत कटाएको थियो । एमालेले जितेका दुवै स्थानीय तहमा माओवादीका उम्मेदवारलाई पराजित गरेको थियो। एमाले र माओवादीको गठबन्धनको मत एकै ठाउँमा जोडिँदा उनीहरु निकै बलिया देखिन्छन् ।
बागलुङः जिल्लामा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । यहाँका कुल १० स्थानीय तहमध्ये एमाले र कांग्रेसले बराबरी ४÷४, माओवादीले र राष्ट्रिय जनमोर्चाले १÷१ तहको नेतृत्व गरिरहेका छन् । ०७० को संविधानसभाको निर्वाचनमा यहाँका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । बागलुङ अर्को कम्युनिस्ट पार्टी राष्ट्रिय जनमोर्चाको पनि बलियो प्रभाव भएको जिल्ला हो । वाम गठबन्धनमा ऊ समेत जोडिएका कारण गठबन्धनको प्रभाव बढी छ भन्न सकिन्छ । स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने तहहरुमा वाम गठबन्धनमा सामेल दलहरुले ३० हजारभन्दा बढी मत पाएका थिए । जबकि, कांग्रेसका उम्मेदवारहरुले पाएको कुल मत झन्डै २१ हजारको हाराहारीमा छ ।
क्षेत्र नम्बर २ मा ६ वटा स्थानीय तह छन् । जसमध्ये नेपाली कांग्रेस ३, एमाले २ र माओवादी १ तहमा विजयी भएको थियो । यहाँ कांग्रेसले १८ हजार हाराहारीमा मत पाएको थियो भने वाम गठबन्धनमा आबद्ध तीन दलको कुल मत झन्डै २८ हजार पुगेको थियो ।
लमजुङः लमजुङमा प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । यहाँका ८ स्थानीय तहमध्ये नेकपा एमाले ५, कांग्रेस २ र माओवादी केन्द्र १ ठाउँमा विजयी भएका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा एमाले र कांग्रेसले एकएक वटा सिट बाँडेका थिए । स्थानीय तहमा यहाँबाट माओवादी र एमालेको कुल मत ३४ हजार ६ सयभन्दा बढी आएको थियो । नेपाली कांग्रेस एक्लैले ३२ हजार मत कटाएको छ । त्यसकारण यहाँ कांग्रेस उम्मेदवार बलिया साबित हुन सक्छन् । वामपन्थी गठबन्धनमा थोरै मात्रै असन्तुष्टि देखिए कांग्रेस उम्मेदवारले फाइदा उठाउन सक्छन् ।
गोरखाः गोरखाबाट प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र छन् । स्थानीय तहको परिणामलाई आधार मान्दा कांग्रेस बलियो देखिन्छ । यहाँका कुल ११ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस र २ वटामा माओवादी विजयी भएका थिए । ०७० सालको निर्वाचनमा यहाँ ३ वटै क्षेत्र माओवादीले जितेको थियो । क्षेत्र नम्बर १ मा गण्डकी नगरपालिका, शहीद लखन गाउँपालिका, गोरखा नगरपालिका (वडा नम्बर १ देखि ७), भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका छन् । २ क्षेत्रमा बाँडिएको गोरखा नगरपालिकालाई छाड्दा बाँकी ६ मध्ये ५ वटामा कांग्रेसले जितेको थियो । सहिद लखन गाउँपालिकामा मात्रै माओवादी विजयी भएको थियो । सो गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार दोस्रो भएका थिए । यहाँ लोकतान्त्रिक गठबन्धनको कारण नयाँ शक्तिको मत पनि कांग्रेस उम्मेदवारलाई जाने सम्भावना छ । यदी त्यसो हो भने उसले पाएको ५ हजार ५ सयभन्दा बढी मतमा कांग्रेसले आशा गर्न सक्छ । जबकि, कांग्रेसले पाएको २४ हजार ४ सयभन्दा बढी मत आफैंमा राम्रो मत हो । त्यहाँ माओवादीले १९ हजार ९ सयभन्दा बढी मत पाएको थियो भने एमालेले १२ हजार ४ भन्दा केही बढी मत पाएको थियो । यहाँ गोरखा नगरपालिकाका १ देखि ७ सम्मका मतलाई जोडिएको छैन । बाँकीमा, दुवै गठबन्धनको मत झन्डै बराबरी रहेकाले कार्यकर्ता र मतदाताहरुको असन्तुष्टि र इमानदारीले नतिजामा भूमिका खेल्न सक्छ ।
गोरखा २ निकै चर्चित क्षेत्र बनेको छ । यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर ८ देखि १४ सम्म पर्छन् । गोरखा नगरपालिकाका वडाहरुलाई छाडेर बाँकी ४ वटा स्थानमध्ये ३ मा कांग्रेस र एकमा माओवादीले जितेको थियो । दुवै दलले एक अर्कालाई पछ्याएका थिए । गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका ७ वटा वडामा एमालेले २ वटा वडा अध्यक्ष जितेको थियो । त्यस्तै, कांग्रेसले ४ र माओवादीले १ वटा वडा अध्यक्षमा जितेको थियो । ४ वटा स्थानीय तह र गोरखा नगरपालिकाका वडाको मत जोड्दा माओवादी बलियो हुन आउँछ । उसले कुल १७, ७९४ मत पाएको देखिन्छ । त्यस्तै, कांग्रेसले १७, ०७०, नयाँ शक्तिले ७, ४१६ र एमालेले ७, १७२ मत पाएको देखिन्छ ।
स्थानीय तहमा खसेकै मतअनुसार उम्मेदवारले मत पाउने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार ९ सय भन्दा बढी मत पाउँछन् । जबकि, लोकतान्त्रिक गठबन्धनका भट्टराईले २४ हजार ४ सयभन्दा केही बढी मत पाउँछन् । उनीहरु बीच लगभग ५ सयको अन्तर देखिन्छ । तर, नेपाली राजनीतिका दुई शीर्ष नेताहरुभट्टराई र श्रेष्ठ नै मैदानमा उत्रिसकेपछि त्यसले विगतको मत र घेरा नाघ्ने अनुमान गर्न गाह्रो छैन । पार्टीगत आस्थाका आधारमा भन्दा पनि उनीहरुको व्यक्तित्व प्रतिको ‘लभ–हेट’ले मत बाँडफाँड हुन सक्छ । भट्टराईले निकटका दुई संविधानसभाको निर्वाचनमा गोरखाबाटै जितेका थिए भने श्रेष्ठ पहिलो पटक त्यहाँबाट चुनाव लडिरहेका छन् ।