४२ बर्ष पूराना योजनामै नेताका राजनीति !

प्रकाश ढकाल
पोखरा, मंसिर ५ ।
४५ बर्षअघि २०२९ सालमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना अगाडी आयो । प्यासिफिक एशोसियशन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखरा विकासको गुरुयोजना तयार गर्दा प्रमुखताका साथ विमानस्थल थियो । त्यही सपनाका आधारमा ३ बर्ष नवित्दै २०३२ सालमा विमानस्थल निर्माणका लागि छिनेडाँडाको ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलको परिकल्पना हुँदै गर्दा जन्मिएका रवीन्द्र अधिकारी विमानस्थल बन्ने ठाउँबाटै दुईचोटी सम्म सांसद बने । ६ सय २९ रोपनी जग्गा थप्ने बाहेक अहिलेसम्म प्रगती शून्य छ । अहिले पनि उनै चुनावका प्रतिश्पर्धी छन् । उनका लागि काँग्रेस उम्मेदवार देवराज चालिसे चुनौती हुन् । उनी संसदीय चुनावका नयाँ अनुहार हुन् । उनले पनि विमानस्थल निर्माणको योजनालाई प्रमुखताका साथ उठाईरहेका छन् । तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेतृत्वले विमानस्थल शिलान्यास गरेकै डेढ बर्ष पूरा भयो ।
जग्गा सम्याउने काम अहिले थालिएको छ । विमानस्थ निर्माणको नारा लिएर चुनाव जितेका अन्य धेरै नेताहरु अहिलेपनि यही विमानस्थललाई देखाएर राजनीतिमा रमाईरहेका छन् । बहुदल आएपछि मात्रै १७ जना प्रत्यक्ष सांसद कास्कीले पायो । २०४८ सालमा चुनाव लडेका नेताहरुले विमानस्थल बनाउने नाराले नै जनतालाई झुक्याए । जग्गा अधिग्रहण भएको ४२ बर्षपछि उही विमानस्थल देखाएर उम्मेदवार जनताका घरदैलो पुगेका छन् । त्यही क्षेत्रबाट अघिल्लो पटक चुनाव जितेकी काँग्रेस उम्मेदवार शारदा पौडेल पनि विमानस्थल प्रति जिम्मेवार देखिईनन् । त्यसो त यहाँका उम्मेदवारहरुको राष्ट्रिय पहुँचमाथी पनि जनताको गुनासो सुनिन थालेको छ । अहिले विमानस्थल क्षेत्र नम्बर १ र २ मा विभाजन भएको छ । ४५ बर्षिय लामो सपना पूरा हुनेमा नागरिकको विश्वास भने मरेको छैन ।
विमानस्थल सँगै ब्यवस्थित बसपार्क निर्माण गर्न उतिबेलै जग्गा अधिग्रहण गरिएको थियो । २०३२ सालमा तत्कालीन अञ्चलाधिस तथा नगर योजना अध्यक्ष शंकरराज पाठक र योजनाविद् पदम बहादुर क्षेत्रीको अगुवाईमा गुरुयोजना बने लगत्तै पृथ्वीचोकमा १ सय ९६ रोपनी जग्गा अधिग्रहण गरिएको हो । बसपार्क निर्माणका लागि छुट्याईएको जग्गा घटेर ५० रोपनी हाराहारीमा झरिसक्यो । बसपार्क बनाउने चासो कसैको छैन । बसपार्क भरी सुकुम्बासी भरिएका छन् । नेताहरु उनै सुकुम्बासीसँग भोट माग्न ब्यस्त छन् । चुनावै पिच्छे विमानस्थल र बसपार्क निर्माणको चर्चा पनि सुरु हुन्छ र महिना दिन नवित्दै सेलाउँछ ।
पोखरा शहरलाई रिङ रोडले घेर्ने प्रश्ताव झण्डै २० बर्ष पूरानो भयो । २०५४ सालमा दोश्रो पटक स्थानीय निकायको चुनावमा निर्वाचीत प्रतिनिधीले तयार गरेको २०५६ को आवद्यिक जिल्ला विकास योजनामा ७६ किलोमिटर लामो चक्रपथ निर्माण गर्ने योजना थियो । ४ वटा ठूला पूल र १ सय ७० वटा पुलेसा सहित विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भैसकेको यो योजनामा उतिबेलै ४० लाख रुपैयाँ विनियोजन भएको हो । हालसम्म चौंथो पटक योजना हेरफेर भयो । पटकपटक लम्बाई घटबढ हुने बाहेक कुनै प्रगती छैन । काम सुरु नहुँदै २०६९ सालमा शहरी विकास मन्त्रालयले संशोधन गरेर ८५ किलोमिटर कायम ग¥यो । त्यसपछि २०७१ म सडक विभागले ८० किलोमिटर लामो चक्रपथको परिकल्पना सरकारलाई बुझायो । २०७२ मा बनेको पोखरा उपत्यका चक्रपथ आयोजना समितिले ७३ किलोमिटर दुरी हुनेगरी शंसोधन गरेर सरकारलाई रिपोर्ट बुझाएको थियो । लगत्तै काम हुने अपेक्षा गरिएको योजना हालसम्म रन्थमोल छ ।
पोखरामा पर्यटनको पर्याय फेवाताल संरक्षण नेताहरुका लागि सँधैको चुनावी मसला हो । बर्षेनीको अतिक्रमणले फेवातालको आकार घटेर तीनगुना सानो भैसकेको छ । २२ हजार रोपनी क्षेत्रफलको फेवाताल २०६४ को अध्ययनमा ९ हजार ९ सय रोपनी मात्रै थियो । अध्ययन भएको पनि १० बर्ष वितिसक्यो । यसको आकार अझै साँघुरिएको विज्ञहरु बताउँछन् । २०३३ सालमा निर्माण भएको बाँध अहिले निकै कमजोर भैसक्यो । त्यही बाँध फेर्न पनि नभ्याएका सांसदहरुले फेरी फेवाताल संरक्षणको फितलो नारा अघि सारेका छन् । पूरानै योजनाले मुर्त रुप नपाएको कास्कीमा अधिकांश पूरानै अनुहार उम्मेदवार बनेका छन् । उही राजनीतिक दलबाट एउटै उम्मेदवार पटक पटक जितेर काठमाण्डौं हान्निएपछि चुनाव आसपासमा मात्रै पोखरा फर्किन्छन् र विगतकै घोषणापत्र जनताको हातमा थमाउँछन् ।
२०४८ देखि एकछत्र चुनावी प्रतिश्पर्धामा होमिएका कास्की १ का एमाले उम्मेदवार खगराज अधिकारी २०५१ का निर्वाचित सांसद हुन् । भेग पायक नपरेकाले पनि उनको मुखमा अहिले फेवाताल झुण्डिँदैन । तर विमानस्थल भएकै भेगबाट उनी चुनावी प्रतिश्पर्धी हुन् । हाल मन्त्रीको समेत भूमिकामा रहेका क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार यज्ञ बहादुर थापालाई पनि विमानस्थल बलियो चुनौति हो । उनको घोषणामै विमानस्थल निर्माणको योजना प्रमुखताका साथ उठेका छन् । यद्यपी कार्यान्वयनमा नागरिकको चिन्ता र चासो छ । कास्कीको राजनीतिमा पाका मानिने कास्की ३ का काँग्रेसी उम्मेदवार शुक्रराज शर्माको जिम्मेवारी अहिले बढी छ । उनी चुनाव लड्ने क्षेत्रमा फेवातालको लगभग पूरै भाग मिसिएको छ । उनका प्रतिश्पर्धी गठबन्धनका उम्मेदवार एमाले नेता जगत विश्वकर्मालाई पनि अहिले अवसर र चुनौती दुवै छन् । जसले चुनाव जितेपनि उनीहरुको नारामा फेवाताल सुनिन्छ । तर फेवातालको पूरानै नियती दोहोरिने शंकामा छन्, पोखरेली । यि बाहेक धेरै योजनाहरु छन्, जुन निकै लामो समयदेखि नेताका लागि चुनावी भाषण बनिरहेका छन् ।