४० रुपैयाँमा १८ लाखको कार (को हुन् भाग्यमानी सन्दिप)

पोखरा, माघ १४ ।
पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ । आइतबार संघको सचिवालय गैह्रापाटनमा आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजेता पौडेललाई कारको साँचो हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसिले आफै लक्की ड्रमा सामेल भएको स्मरण गर्दै पोखरा उद्योग वाणिज्य संघले निश्पक्ष रुपले गरेको लक्की ड्र बाट अरुहरुले पनि सिक्नु पर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले मेला सफल बनाउन सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै कार विजेता सन्दीपलाई बधाई ज्ञापन दिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गरेको कार्यक्रममा बोल्दै कार विजेता सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए ।
कुस्मा नगरपालिकाका १५ वर्षीय सन्दीप त्यहीँको नमूना माविमा कक्षा ९ मा पढ्दै छन् भने उनका पिता नारायणप्रसाद पौडेल प्रहरी सेवामा रहेका छन् । सन्दिप मृगौलामा पत्थरी जमेर उपचाररत छन् । उपचारकै क्रममा पोखरा आउँदा पिता नारायणप्रसाद पौडेलले माघ ५ गते मेला हेर्न लगेका थिए । मेला हेर्न सन्दीपले काटेको टिकट नम्बर ०५४८९२ लाई कार उपहार परेको थियो । मेला पोखराको नयाँबजारमा पुस २७ देखि माघ ८ गतेसम्म चलेको थियो । मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मेलाको प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवन कार उपहार राखेको हो । मेलाको अन्तिम दिन उपहार खोलिएको थियो ।