३५ करोड रुपाको बजेट

पोखरा, असार १२ ।
क्षेत्रफलका हिसावले रुपा गाउँपालिका कास्कीकै सबैभन्दा सानो स्थानीय तह हो । साँघुरो भुगोल भएपछि बजेट पनि स्वतः सानै आकारको हुन्छ । रुपाले आगामी आर्थिक बर्षका लागि ३५ करोड रुपैयाँको बजेट प्रश्तुत गरेको छ । अनुमानित बजेटमध्ये गाउँपालिकाले प्राथमिकताका आधारमा क्लष्टर छुट्याएर बजेट विनियोजन गरेको छ । खासगरी गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा गर्ने कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ । यसकै लागि समपुरक कोषमा ३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिराखेको छ ।

गाउँपालिकाले पर्यटनमा ५० लाख छुट्याएको छ भने कृषि विकासमा ८० लाख, सहकारीमा २५ लाख, वित्त क्षेत्रमा २० लाख, सामाजिक विकासमा ४१ लाख, लैङ्गिक तथा वालवालिका समावेशीकरण १२ लाख, संस्कृति प्रबद्र्धनमा ४३ लाख, खानेपानी सरसफाईमा ४० लाख बजेट विनियोजन गरिएको छ । यस्तै, स्वास्थ्यमा ४५ लाख, शिक्षामा ७० लाख, यूवा तथा खेलकुद २५ लाख, श्रम तथा रोजगार ५ लाख, विज्ञान प्रविधिमा १६ लाख, पूर्वाधार विकासमा सिँचाई तर्फ ३७ लाख, सडकमा ६० लाख र भवनमा ६१ लाख रुपैयाँ छ ।

शहरी विकास ५ लाख, बैकल्पिक उर्जामा १५ लाख, विद्युतीकरणमा ४० लाख, पुलमा ५ लाख, वडागत योजनालाई ६० लाख, वातावरण तथा विपद् ब्यवस्थापनमा २० लाख, समपुरक कोषमा ३ करोड ४० लाख, शुसाशन र विविधमा ९७ लाख, वित्तीय ब्यवस्थापनमा १० लाख गरी १२ करोड ८० लाख।, वनमा ५ लाख र उद्योगमा ५ लाख रुपैयाँ बजेट गाउँपालिकाले छुट्याएको छ ।

रुपाले आगामी बर्ष किसानलाई उत्पादनका आधारमा अनुदान र निशुल्क ढुवानी गरिदिने गरि कार्यक्रम ल्याएको छ । आधुनिक कृषि यन्त्र भित्र्याउनका लागि १५ लाख रुपैयाँ अनुदान दिन लागेको गाउँपालिकाले ढुवानी र उत्पादनमा आधारित अनुदान दिन १० लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले अर्गानिक उत्पादनमा जोड दिँदै अर्गानिक उत्पादन गर्ने किसानलाई मात्रै अनुदान दिने निर्णय गरेको छ । यसबर्ष पनि बाँदर व्यवस्थापनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अन्यत्रजस्तै रुपामा पनि पूर्वाधार विकासको कार्यक्रम बढी प्राथमिकतामा छ । ठूलो आकारको बजेट पनि पूर्वाधार निर्माणमा खर्च गर्ने तयारी छ । सडक स्तरोन्नतीका लागि ६० लाख रुपैयाँ छ भने भवन निर्माणका लागि ६१ लाख छ । आगामी बर्ष १५ शैयाको अस्पताल बनाउने लक्ष्य सहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ भने सोही अनुसारको बजेट पनि विनियोजन भएको छ । आगामी बर्ष जम्मा १ सय १७ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । धेरै योजना बनाउनुभन्दा एकैबर्ष पूरा हुने र देखिने खालका कार्यक्रममा केन्द्रीत गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।