२७ वर्षदेखि दसैंको टिका थाप्दै आएका अब्दुल भन्छन्–दसैं, तिहारलाई इदजत्तिकै मन पराउँछु

नेपालगञ्ज, कार्तिक ७ ।
मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज । नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ । त्यसैगरी नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी मन्दिरको बाटो हुँदै मस्जिद पुग्नु यहाँको धार्मिक सहिष्णुताको अनुपम नमूना हो ।

त्यसमाथि एकले अर्को व्यक्तिसँग कुराकानी गर्दा एकै साथ नेपाली, थारु र उर्दु भाषा प्रयोग गर्ने सामर्थ्य राख्छन्, अधिकांश नेपालगन्जबासी । त्यसैले त नेपालगन्जमा दसैं, तिहार, होलीजस्तै जितिया, इद र मोहरमजस्ता पर्वको रौनक पनि विशेष हुने गर्दछ । धर्मका हिसाबले हिन्दु र इस्लाममा बाडिँएको भए पनि नेपालगन्जका मुस्लिम समुदाय इद, बकरइद र मोहरममा जस्तै दसैं र तिहारमा पनि उत्तीकै आफ्नोपन महशुस गर्छन् । एकअर्कामा शुभकामना आदानप्रदान गर्छन् ।

मुस्लिम समुदायले मनाउने चाडपर्वहरुमा हिन्दु समुदायलाई पाहुनाका रुपमा स्वागत गरिन्छ र परम्परा अनुसार नै एकअर्कामा पर्वको उल्लास साटासाट गरिन्छ । ठिक यहि परिपाटी दसैं, तिहारलगायतका चाडपर्वमा पनि देख्न पाइन्छ ।

नेपालगन्जले बाँडेको धार्मिक सहिष्णुताको यो अनुपम नमूनाले यसपटकको दसैंमा पनि निरन्तरता पायो। जसको एक उदाहरण बने अब्दुल वाहिद मन्सुरी चुन्ना । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुन्ना दसैंको टिका थापिरहेका स्थानीय शक्ति शाहको घरमा पुग्दा माहोलले एकाएक फरक मोड लियो ।

दसैंका बेला हिन्दुको घरमा टिका थाप्न एक मुस्लिम पुग्नुलाई आम रुपमा सामान्य अर्थ लिइँदैन । तर, नेपालगन्जका लागि यो विषय नौलो भने थिएन । चुन्ना पुगेसँगै शाहको घरमा दसैंको झनै उल्लास थपियो । दसैं भएपनि मुस्लिम समुदायका चुन्ना दसैंको टीका थाप्न दिनभर नै व्यस्त भइरहे ।

४० वर्षीय चुन्नाले आफ्नो दसैंको व्यस्तता यसरी सुनाए–

यसपाला दसैं शुक्रबार पर्यो । मुस्लिमहरुका लागि शुक्रबार विशेष दिन हो । शुक्रबार अनिवार्य रुपमा नमाज पढ्नु पर्छ । त्यसैले बिहान मस्जिद पुगेर नमाज पढें । त्यसपछि शक्तिको घरमा गएको हुँ । पहिले शक्तिको बुवा आमाको हातबाट दसैंको टीका जमरा लगाएँ । आशिर्वाद लिएँ । त्यसपछि टिका जमरा लगाइदिने पालो मेरो थियो । क्रमैसँग शक्ति र परिवारका अन्य सदस्यहरुलाई टीका जमरा लगाई दिएँ ।

दसैंलाई आमरुपमा मासु खाने चाडको रुपमा लिइन्छ । तर, मुस्लिम धर्मावलम्बीहरुमा हलाल गरेको मात्रै मासु खानु पर्छ भन्ने मान्यता छ । यस मान्यताप्रति शक्ति मात्रै होइन अधिकांश नेपालगन्जबासी जानकार छन् । त्यसैले मेरो लागि शक्तिले हलाल गरेकै मासुको व्यवस्था गरिदिए । अनि हामी सँगै बसेर खाना खायौं र रमाइलो गर्यौं ।

त्यसपछि म अर्काे साथी किस्मत सिंह थारुको घर गएँ । अंकल आन्टीसँग टीका थापें। अनि मैले पनि शक्तिकोमा जस्तै परिवारका अन्य सदस्यहरुलाई टीका जमरा लगादिएर आर्शिवाद दिएँ ।

चुन्नाले दसैंमा टीका जमरा लगाउन थालेको २७ वर्ष भन्दा धेरै समय भइसकेको छ । २०४७÷०४८ सालतिर चुन्ना, शक्तिकी दिदी पूजा र किस्मत सिंह थारु नेपालगन्जको महेन्द्र माविमा पढ्थे । उनीहरु स्कुले जीवनका मिल्ने साथीहरु थिए । स्कुले मित्रताले उनीहरुको सम्बन्ध पारिवारिक सम्बन्धमा बदलिएको थियो । उनीहरुको मित्रतालाई प्रत्येक वर्ष आउने विभिन्न चाडपर्वहरु दसैं, तिहार, इद र मोहरमले झनै गाढा बनाइदिने गर्दथ्यो । स्कुले जीवनदेखि नै उनीहरुले यसरी नै एकअर्काका चाडपर्व मनाउँदै आएका छन् ।

अन्सारी पुनः धाराप्रवाह आफ्नो अनुभूति पोख्छन–

‘मेरा लागि इद र मोहरम जस्तै दसैं र तिहार पनि प्रिय चाडपर्वहरु हुन् । मैले दसैं मात्रै होइन, भाइटीका पनि मनाउँछु । शक्ति र किस्मतको घरमा गएर दिदीबहिनीहरुलाई तिहारको टीका पनि लगाइदिन्छु । अनि सेलरोटी खाएर रमाउँछु । मलाई सेलरोटी निक्कै मन पर्छ। मैले सेलरोटी पकाउने तरिका पनि सिकेको छु । पहिला मलाई सेलरोटी खान मन लाग्यो भने रोटी पकाउने भाँडा पनि म छिमेकी हिन्दु साथीको घरबाट मागेर ल्याउँथे र काम चलाउँथे ।

शक्ति किस्मत र मैले दसैं, तिहार, इद र मोहरम मनाउँदै आएका छौं । मैले इदमा शक्ति र किस्मतलाई घर मै बोलाउँछु । दसैं, तिहारजस्तै हामी सँगै इद पनि मनाउँछौं ।’

चुन्ना नेपालगन्जको घरबारी टोलमा बस्थे । किस्मतको घर भने नेपालगन्जबाट करिब ३५ किलोमिटर टाढा बाँकेको थपुवा गाउँमा थियो । दसैं आउनासाथ किस्मतको घरमा चुन्ना आउने दिनको प्रतिक्षा सुरु हुन्थ्यो । चुन्ना आउने खबरले घरमा खुसियाली छाउने गरेको सम्झिन्छन् किस्मत पनि ।

१५÷१६ वर्ष पहिलेसम्म दसैंमा चुन्ना नेपालगन्जबाट बस चढेर कोहलपुर हुदैं थपुवा गाउँसम्म पुग्थे । किस्मत गाउँबाट राजमार्गसम्म साइकल लिएर उनलाई लिन आउँथे । अनि दुवैजना साइकल चडेर थपुवा गाउँ पुग्थे । चुन्ना किस्मतको घर पुग्नु अगावै कुखुराको भालेलाई समातेर राखिएको हुन्थ्यो ।

किस्मतको परिवारसँग भेटघाट सकिना साथ चुन्नाले हलाल गरेर भाले काट्थे । मासुको व्यवस्था भएपछि दसैंको टीकाटालो सुरु हुन्थ्यो । अनि उनीहरु गाउँ पुगेर थारु समुदायले दसैंमा नाच्ने सखिया नाच हेर्थे ।

त्यतिबेला अहिलेजस्तो सवारी साधन सहज रुपमा पाउन सकिदैंनथ्यो। त्यसकारण पनि नेपालगन्जबाट थपुवा पुग्न त्यति सहज थिएन । उतिबेलाको दिन सम्झिँदै किस्मतले भने, ‘तैपनि जसोतसो चुन्ना दाइ आइहाल्नु हुन्थ्यो । त्यसको केही वर्षपछि चुन्ना दाइले स्कट्र्स मोटरसाइकल किनेपछि थपुवा र नेपालगन्जको दुरी छोटिएको हो ।’

त्यसको केही वर्षपछि त किस्मतको परिवार पनि नेपालगन्ज बसाइ सर्यो । सोपश्चात् भने दुवै जनालाई साथीको घरमा आउजाउ सहज हुन थाल्यो । र चाडपर्वको उल्लास झनै थपिन थाल्यो । शक्ति भन्छन्, ‘चाडबाड भनेकै एक–आपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हो । हामी पनि त्यही माध्यममार्फत एकअर्कामा जोडिएका न हौं । वास्तवमा म दसैं, तिहारलाई इदजत्तिकै मन पराउँछु ।’