२६ महिनापछि कांग्रेस पदाधिकारी नियुक्तिको तयारी

काठमाडौं, वैशाख १७ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २६ महिनापछि पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । त्यसका लागि देउवाले निर्वा्चित केन्द्रीय समितिको बैठक सोमबार बोलाएका छन् । कांग्रेस विधानमा दुई महिनाभित्र पदाधिकारी नियुक्त गर्ने प्रावधान छ । तर, २६ महिनापछि नियुक्तिको तयारी गरेपछि रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ । पौडेल पक्षका एक नेताले भने, ‘देउवा जी सभापति सुशील कोइरालाको पालामा आठ महिनापछि पदाधिकारी नियुक्त गरिएको नजिर दिनुहुन्छ । सुशीलदाले त दुई महिनाभित्रै प्रस्ताव पेश गरे पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा ढिला भएको हो ।

तर देउवाजीले दुई महिनाभित्र प्रस्तावसमेत ल्याउनु भएन ।’ देउवाले विमलेन्द्र निधिलाई उपसभापति र पूर्णबहादुर खड्कालाई महामन्त्री नियुक्तिको तयारी गरेको स्रोतले बतायो । उपसभापतिका लागि निधिसागै विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठको पनि दाबी छ । तर, देउवाले निधिलाई नै अघि सार्ने तयारी गरेको स्रोतले जनाएको छ । देउवाले सहमहामन्त्री भने पौडेल समूहलाई दिन सक्छन् । तर, पौडेलले नमाने देउवा समूहकै आउने सम्भावना छ ।