२३ मन्त्रीले लिए दोहोरो सुविधा, मन्त्रालयको तेल हालेर नगद झ्वाम

काठमाण्डौं, पुस ५ ।
मन्त्रीहरुले दोहोरो इन्धन सुविधा चप्काउँदै आएको खुलेको छ । नयाँ पत्रिकाका अनुसार, २४ मध्ये २३ मन्त्रीले दोहोरो सुविधा लिँदै आएका छन् । यति मात्रै होइन, स्वकीय सचिवलाई पनि गैरकानूनी रुपमा गाडी र इन्धन दिलाएका छन् ।

तर, अर्थमन्त्री युवराज खतिवडाले भने त्यस्तो दोहोरो सुविधा नलिएको समाचारमा लेखिएको छ । नयाँ पत्रिका लेख्छ–प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दोहोर्याइरहेका छन् । तर उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् ।

मन्त्रिपरिषदका सदस्यहरुको पारिश्रमिक सेवा(सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरुले मन्त्रालय वा मातहतबाट तेल हालिरहेका छन् । समाचारअनुसार अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ ।