२० बिघा सार्वजनिक जग्गा भूमाफियाले खाएपछि

बारा, पुस २ ।
बाराको सिमरा उपमहानगरपालिका–२३ मा रहेको करिब २० बिघा सार्वजनिक जग्गा भूमाफियाको नाममा दर्ता भएको भेटिएको छ । वीरगन्ज–पथलैया सडकखण्डसँगै जोडिएको करोडौँ मूल्य पर्ने सार्वजनिक जमिन भूमाफियाले २० वर्षअघि नै आफ्नो नाममा दर्ता गरेका भएपनि स्थानीयवासीले अहिले मात्र त्यसको जानकारी पाएका छन् । स्थायी घर काठमाडौं भएका पंकजराज पाण्डे, बन्दना पाण्डे, अर्चना पाण्डे र पर्साका प्रद्युम्नराज पाण्डेको नाममा २०५५ सालमै उक्त जमिन दर्ता भएको पाइएको जितपुर सिमरा उपमहानगरपालिका–२३ का अध्यक्ष असलम देवानले बताए ।
भूमाफियाले आफ्नो नाममा दर्ता गरेको २० बिघा जमिनमा सुकुमबासीका तीनवटा गाउँ छन् । ४० वर्षदेखि सयभन्दा धेरै परिवारले घरवाससहित बसोवास गर्दै आएको जमिनको लालपुर्जा अर्कैको नाममा रहेको थाहा पाएपछि उनीहरूले विरोध प्रदर्शन छन् । भूमाफियाको नाममा दर्ता भएको जमिन फिर्ता गरी उनीहरूमाथि कारबाही गर्न पनि स्थानीयले माग गरेका छन् ।
स्थानीय तहको निर्वाचनपछि वडा कार्यालयका लागि सार्वजनिक जग्गाको खोजी सुरु गर्दा सार्वजनिक जग्गा भूमाफियाको नाममा दर्ता रहेको खुलेको हो । वडा कार्यालय, स्कुल, पार्कलगायतका सार्वजनिक संरचना निर्माणका लागि वडाध्यक्ष देवान नेतृत्वको टोलीले सार्वजनिक जग्गा खोजी गर्ने क्रममा सयौँ परिवार सुकुमबासी बस्दै आएको २० बिघा जमिन भूमाफियाको नाममा दर्ता भएको पत्ता लगाएको थियो । ‘भूमाफियाहरूले २०५५ सालमै २० बिघा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेका रहेछन्,’ वडाध्यक्ष देवानले भने, ‘४० वर्षदेखि घरवाससहित बस्दै आएको जमिनको लालपुर्जा अर्कैको नाममा रहेको थाहा पाएपछि यहाँका सुकुमबासी दलितहरू विस्थापित हुने डरले चिन्तित बनेका छन् ।’