१२ बजेसम्म ३० प्रतिसत मत खस्यो

जिल्ला ब्युरो, मंसिर १० ।
निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ ।
निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले बताएको हो ।
पहिलो चरणको निर्वाचनमा अधिकांश क्षेत्र दुर्गममा परेपनि त्यहाँ मतदाता विहानै देखि उत्साहजनक ढंगले मतदानमा सहभागी भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगको आँकलनमा अहिले देशैभर ३० प्रतिशत मतदान भइसकेको छ ।
३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्रमा आजको पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ ।
आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा मतदान भइरहेको छ ।
यसैगरी प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।
पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।