१२ करोड लागतमा पोखरामा अख्तियारको आफ्नै भवन

पोखरा, असोज २४ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आफ्नै भवन निर्माण गर्ने भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको परिसरभित्र साढे दुईतले भवन निर्माणको काम सुरु भैसकेको छ । अख्तियार र अख्तियार अन्तर्गत रहने प्रहरीको छुट्टाछुट्टै दुईवटा भवन निर्माण हुनेछ ।

मुख्य भवन साढे दुई तला र प्रहरीको साढे तीनतले भवन निर्माण गरिएको अख्यिार पोखराका प्रबक्ता रमेश ढकालले जानकारी दिए । उनका अनुसार मुख्य भवनमा ३८ र प्रहरी भवनमा २५ कोठा रहनेछन् । दुईबर्षभित्र निर्माण सक्ने गरि गएको असार २५ गते आशिस फेवा जेभी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

१४ करोड रुपैयाँ लागत स्टिमेट गरिएको भवन निर्माणका लागि १२ करोड ८ लाख रुपैयाँमा सम्झौता गरिएको हो । बुधबार एक कार्यक्रमका बीच अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास पछि बोल्दै उनले जनता सचेत भैसकेकोले कामप्रति जिम्मेवार हुन कर्मचारीलाई निर्देशन दिए ।