१० करोड ठगी आरोपी जसुदाले मागिन् माफी, सबैको पैसा तिर्ने प्रतिवद्धता

पोखरा, चैत २१ ।
अघिल्लो साता पोखरामा एकाएक एउटा खवर भाइरल भयो–एउटी महिलाले १० करोड ठगेर बेपत्ता भएको । डिएनए नेपाल सहित पोखराका धेरै अनलाईन मिडियाले खवर छाप्यो । त्यसको भोलिपल्ट आरोपी ति महिला सञ्चार सम्पर्कमा आईन् र आँफु फरार नरहेको सार्वजनिक गरिन् ।

उनले सँगै मिडियाले चरित्र हत्या गरेको आरोप लगाईन् र पूर्वपति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईन् । पोखरा गणेशटोलकी जसुदा पौडेलले पुर्वपतिले कुटपिट गरेपछि ज्यान जोगाउन भागेको बताएकी थिईन् ।

तर विहिबार पौडेलले मिडियासँग माफी माग्दै पूर्वपति विरुद्ध दिएको उजुरी समेत फिर्ता लिएकी छिन् । समाचार प्रकाशन हुनुअघि जसुदालाई जतिपटक सम्पर्क गर्दा पनि उनको मोवाईल स्विच अफ गरिएको थियो । यूट्युवमा अन्तरबार्ता दिँदा आफु अचेत अवस्थामा रहेको उनले बताएकी छिन् ।

धेरै ब्यक्तिहरुसँग आफुले पैसा लिएको स्विकार्दै उनले केही दिनमै सबै रकम फिर्ता गर्ने प्रतिबद्धता पनि जनाईन् । विज्ञप्ती नै जारी गरेर उनले पूर्वपतिको विरुद्ध बहकाउमा लागेर उजुरी दिएको बताएकी छिन् । उनले आफ्नो नाममा रहेको सम्पत्ति तथा व्यवसायबाट माइति, साथीभाई तथा आफन्तको साथ लिई कारोबार मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

आफ्ना आफन्त, विजनेस पार्टनर सहित नजिकका १०÷१५ जना साथीहरुलाई गरी करिब ५÷७ करोड रुपैयाँ तिर्न रहेको जसुदाको भनाई छ । व्यक्ति बाहेक आफ्नो सहकारीमा ३ करोडजति ऋण रहेको स्वीकार गर्दै जसुदाले सहकारीको ऋण धितोमा भएको र आफ्नो अन्य जग्गा जमिन तथा जायजेथा रहेकाले बिस्तारै सबै रकम तिर्ने प्रतिबद्धता जनाईन् ।

उता जसुदाका पुर्व पति सुरेन्द्रमणि पौडेलले जसुदाको आर्थिक कारोवारको बिषयमा केही ठाँउहरुमा आफु धन जमानी बसेकोले समन्वय गरी मिलाउने पक्षमा आफुँ रहेको बताए । जसुदाले माफी मागेको समाचार आजका धेरैजसो अनलाईन मिडियामा आएका छन् ।