होसियार ! बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर, भदौ ३० ।
बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ ।

रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४ सय ८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ ।

घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने थापाको भनाइ छ ।

यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।