होसियार ! पोखराबाट २ दिनमै ९ वटा बाईक हरायो

पोखरा, साउन २२ ।
पोखराबाट २ दिनमै ९ वटा मोटरसाईकल हराएको छ । तर प्रहरीमा भने ५ वटाको मात्रै उजुरी परेको छ । आइतबार ७ र सोमबार २ गरी ९ वटा मोटरसाईकल विभिन्न ठाउँबाट हराएको ला ग्राण्डी कलेजका विद्यार्थी दिनेश रेग्मीले बताए ।

स्याङ्जा आँधीखोला पाख्रीबोटका चोलाकान्त पौडेलको चिप्लेढुंगा स्थित विशालबजार नजिकबाट ग १५ प २८१८ नम्बरको बाइक हराएको छ भने चिप्लेढुंगाबाटै ग १५ प २८१८ सहित ओपनहाउसबाट ग१४प ७८८३, बाझापाटनबाट ग१३प ७७५६, चिप्लेढुंगाबाट ग४प ६३७८, काजीपोखरीबाट ग३प ११३८ नम्बरको बाइक हराएको उजुरी टिपाएको ट्राफिक प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बाइक हराएकोबारे अनुसन्धान कमिटि नै बनाउने तयारी भएको जनाए । उनले आफूले एक दिनमै यति धेरै संख्यामा बाइक हराएको बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । गत चैत दोस्रो साता कास्की प्रहरीले बाइक चोर्ने गिरोह नै सार्वजनिक गरेको थियो ।

पोखरा र तनहुँको भिमाद क्षेत्रबाट ११ जना बाइक चोरहरुलाई पक्रिन सफल भएको थियो । कास्की प्रहरीको यो ठूलो सफलता थियो । तर, पोखरामा एकैदिन आधा दर्जन बाइक चोरी भएपछि बाइक चालक त्रसित छन् । कास्की प्रहरीलाई चुनौति थपिएको छ ।–गण्डक न्यूजको सहयोगमा

File Photo