‘हेल्लो मुख्यमन्त्री ज्यू–जनैपूर्णिमामा विदा दिन मिल्दैन ?’

पोखरा, भदौ ५ ।
‘मुख्यमन्त्री ज्यू गण्डकी प्रदेशमा बाहुन क्षेत्रीको बाहुल्यता छ । यसलाई छुट्टै विदा दिनुस् त भन्न मिल्दैन । सांस्कृतिक चाड भएकोले कुनै भैपरी विदा कटाएर जनैपूर्णिमामा विदा दिन मिल्दैन ?’ मुख्यमन्त्री कार्यालयमा सोमबार गज्जबको सुझाव आयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिए–‘उपेन्द्रजी कति कुरा नीति नियम बनाएर मात्रै काम गर्नुपर्छ । मेरो यो बिषयमा ध्यानाकर्षण भएको छ । बैठकमा कुरा उठाउँला ।’ प्रश्न गर्ने चाहीँ पोखराका लेक्चर थिए, उपेन्द्र पौडेल ।

त्यो भन्दा पहिले अर्को फोन आयो कृष्ण पौडेलको–‘पोखरामा पर्यटकको बसाईं लम्ब्याउन र फेवाताल संरक्षणका लागि सरकारको कार्यक्रम के छ ?’ जवाफमा मुख्यमन्त्री गुरुङले भने–‘फेवातालको संरक्षण, पर्यटकको बसाँई लम्बाउन पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु गर्दैछौं ।’

जनताका गुनासो सुन्न र त्यसलाई सम्बोधन गर्नका लागि सोमबारदेखि गण्डकी प्रदेश सरकारले हेल्लो मुख्य मन्त्री कल सेण्टर सुरु गरेको छ । सेन्टरको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले आज उद्घाटन गरे । सर्वसाधारणका गुनासोलाई व्यवस्थित संकलन गरेर सम्बोधन गर्न प्रदेश सरकारले कल सेन्टर शुरु गरिएको हो । सर्वसाधरणले टेलिफोन, इमेल, मोवाइल एप्स र वेभ साइडमा गएर सिधै प्रश्न गर्न सक्ने छन् ।

हेलो मुख्यमन्त्री कक्षालाई तत्काल गुनासो सम्बन्धित निकायमा पु¥याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको मुख्यमन्त्री गुरुङले बताए । उनले हेल्लो मुख्यमन्त्री कक्षमा आउने जनताका गुनासालाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

विहान १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिपान सक्ने छन् । सर्वसाधरणले नेपाल टेलिकमको टोलफ्रि नम्बर १०९४ मा फोन गरेर आफ्ना गुनासाहरु हेल्लो मुख्यमन्त्री कक्षमा टिपाउन पाउने छन् । भने उक्त गुनासाहरु तत्काल सम्बन्धीत निकायहरुमा पठाई छिटो भन्दा छिटो गुनासाहरु समाधान गर्ने मुख्यमन्त्रीले बताए ।