हेल्मेट अनिवार्य गर्दा नेपालीको ६ अर्ब ३२ करोड एकैपल्ट बाहिरिने

काठमाण्डौं, जेठ ७ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार पत्रकार सम्मेलन गर्दै दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेपछि पक्षरविपक्षमा बहस शुरू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ परिच्छेद ७ को दफा १३० उपदफा २ मा दुईपांग्रे चलाउने र पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिएको छ । ऐनमा लेखिएको छ, ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’

 

आइतवार पत्रकार सम्मेलन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाको ९६ प्रतिशत दुईपांग्रे सवारी प्रयोगकर्ता रहेको बताए भने पछाडि बस्नेको मृत्यु अत्याधिक भएको बताए ।

 

नेपालमा हेल्मेट बनाउने कारखाना छैन । सबै हेल्मेट विदेशबाट ल्याएर व्यवसायीले बेच्ने गर्छन् । यातायात व्यवस्था विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४र०७५ सम्म २५ लाख ३० हजार ७ सय २२ वटा दुईपांग्रे सवारीसाधन दर्ता भएका छन् ।

 

प्रयोगमा रहेका हरेक दुईपांग्रे सवारीसाधनले थप एउटा हेल्मेट किन्नुपर्दा नेपालमा एकैपल्ट २५ लाख ३० हजार ७ सय २२ वटा हेल्मेट आयात गर्नुपर्ने र नेपाली रुपैयाँ विदेश पठाउनुपर्ने हुन्छ । बजारमूल्य अनुसार प्रतिहेल्मेट औसत २ हजारदेखि २५ सय रुपैयाँ पर्छ ।

 

यसरी हिसाब गर्दा लगभग ६ अर्ब ३२ करोड नेपाली रुपैयाँ हेल्मेट खरिदमै विदेशिने देखिएको छ । व्यापार घाटा बढिरहेको बेला ‘हेल्मेट अनिवार्य’ निर्णयले व्यापार घाटालाई थप बढाउने छ ।

 

२०६४ सालमा पनि पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने नियम लगाउन खोजिएको थियो । तर ५ लाख मोटरसाइकलमा थप हेल्मेट किन्दा देशको लगभग ५० करोड रुपैयाँ बाहिरिने भन्दै नियम कार्यान्वयन गरिएको थिएन ।