हेलिकोप्टर दुर्घटनामा जीवित आनीको दुर्घटना स्थलमै उपचार हुँदै

पोखरा, भदौ २३ ।
अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा एक जना यात्रु बाँचेको खबर पाएपछि नेपाल मेडिसिटी हस्पिटलको चिकित्सकीय टोली दुर्घटनास्थल नुवाकोटको बेत्रावती नजिकै पुगेको छ । घाइते अवस्थामा रहेका आनी डोल्माको उपचार शिघ्रातिशिघ्र होस् भन्ने हेतुले अस्पतालको चिकित्सक टोली हेलिकप्टर नै लिएर दुर्घटनास्थल नजिक पुगेको हो ।

‘हामीले हेलिकप्टरमै मोवाइल आइसीयूको व्यवस्था गरेर दुर्घटनास्थल नजिकै आइपुगेका छौं’ डाक्टर संजय कार्कीले नुवाकोट बेत्रतावती नजिकैबाट भने, ‘दुर्घटनास्थल अलिक विकट भएकाले हामी त्यहाँसम्म पुग्न सकेका छैनौं तर हाम्रो प्रयास जारी छ ।’

दुर्घटनास्थलमा उद्धारटोली पुगेको र घाइतेलाई हेलिकप्टरमा रहेको मिनि आइसीयूसम्म ल्याएपछि उनलाई सुरक्षित तरिकाले काठमाडौंको मेडिसिटी ल्याइने छ ।

उक्त दुर्घटनामा चालक सहित ७ जना रहेकोमा आनी बाहेक अन्य ६ जनाको मृत्यु भइसकेको छ ।