’हेभीवेट’ नेताहरुको भयंकर भिडन्त (को कहाँबाट)

पोखरा, कार्तिक ६ ।
आउँदो चुनावमा अधिकांश हेभीवेट नेताहरुबीच प्रतिश्पर्धा हुने भएको छ । निर्वाचन क्षेत्रको सीमा गाभिएपछि नेताहरु एउटै क्षेत्रबाट चुनावमा सहभागी हुँदैछन् । पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्ष र जिम्मेवार नेतृत्वमा रहेका नेताहरु पनि प्रतिश्पर्धाका लागि चुनावी मैदानमा छन् ।
पहिले एउटै पार्टीमा भएका नेताहरुलाई पनि पार्टी फुट र गठबन्धनले चुनावमा आमनेसामने बनाएको छ । को को छन् त्यस्ता नेताहरुः
बाबुराम भट्टराई/नारायणकाजी श्रेष्ठ
सबैभन्दा बढी रोचक क्षेत्रको रुपमा यसपाला गोरखा २ लाई लिईएको छ । पूर्व प्रधामन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नाराणकाजी श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यका लागि एउटै क्षेत्रमा भिडन्त हुँदैछ । कुनै समय माओवादीका सहयात्री नेताहरु एकापसमा प्रतिस्पर्धी भएर उत्रन लागेका हुन् । पहिलो संविधानसभामा भट्टराई गोरखा २ बाट र दोस्रो संविधानसभामा गोरखा १ बाट विजयी भएका थिए भने श्रेष्ठ मकवानपुर २ बाट पराजित भएका थिए ।
पशुपति शमशेर/शेरबहादुर तामाङ
तीन दशकदेखि राजनीतिमा सक्रिय राप्रपा प्रजातान्त्रिकका नेता पशुपति शमशेर राणा सम्भवतः अन्तिम चुनावी प्रतिश्पर्धाका लागि सहभागी हुँदैछन् यसपाली । पहिलो संविधानसभामा माओवादीका सांसद दावा तामाङ र दोस्रो संविधानसभामा एमालेका सांसद शेरबहादुर तामाङसँग राणा पराजित भएका नेता हुन्। अहिले उनी लोकतान्त्रिक गठबन्धनबाट सिन्धुपाल्चोक २ बाट चुनाव लड्दैछन् ।
हाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पनि यस पटक वाम गठबन्धनका हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । अघिल्लो संविधानसभा निर्वाचनमा १ नम्बरबाट विजयी भई मन्त्री भएका बस्नेतले यस पटक पूर्वमन्त्री अग्नि सापकोटालाई प्रतिस्पर्धीको रुपमा पाएका छन् । तीन वटा निर्वाचन क्षेत्र हुँदा २ नम्बरबाट विजयी भएका सापकोटा यस पटक जिल्लाको निर्वाचन क्षेत्र मर्ज भएपछि बस्नेतसँग भिडन्त गर्न पुगका हुन् ।
रामहरि खतिवडा/यज्ञराज सुनुवार
अघिल्लो संविधानसभामा दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगाले यस पटक एक क्षेत्रमै प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएको छ । यसले ठूला र सम्भावना भएका नेताहरु पनि एउटै क्षेत्रमा खुम्चिनुपर्ने बाध्यता छ । यसपटक अघिल्ला चुनावमा विजेता नेताहरु प्रमुख प्रतिश्पर्धी छन् । यसपाली दुवै गठबन्धनका चर्चित अनुहार नै प्रतिस्पर्धामा देखिएका छन् । लोकतान्त्रिक गठबन्धनवाट नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा प्रतिस्पर्धामा उत्रेका छन् भने उनलाई एमालेका युवा नेता यज्ञराज सुनुवारले टक्कर दिँदैछन् । जिल्लामा दुवै नेता लोकप्रिय छन् । दुवैबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
रामशरण महत/हितबहादुर तामाङ
नुवाकोट १ मा पूर्व अर्थमन्त्री डा रामशरण महतलाई वाम गठबन्धनका नेता हितबहादुर तमाङले टक्कर दिँदैछन् । केही वर्षदेखि महत सोही क्षेत्रवाट निर्वाचित हुँदै आएका छन् । एमाले र माओवादी एक ठाउँमा उभिएकाले महतलाई तमाङले टक्कर दिने देखिन्छ । अघिल्लो संविधानसभा निर्वाचनका थोरै मतले विजयी भएका महतलाई यसपटक आफ्ने किल्ला जोगाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
अर्जुननरसिंह केसी/नारायणप्रसाद खतिवडा
लामो समयदेखि नुवाकोटबाटै राजनीति गरेका अर्जुननरसिंह केसी पनि यसपटक २ नम्बर क्षेत्रवाट चुनावी मैदानमा उत्रेका छन् । केसीसँग वाम गठबन्धनका नारायणप्रसाद खतिवडा भिड्ने भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् ।
चीनकाजी श्रेष्ठ/हरि अधिकारी
अघिल्लो पटक समानुपातिक सूचीबाट सांसद हुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक बनेका श्रेष्ठले यस पटक वाम गठबन्धनका हरि अधिकारी प्रतिस्पर्धी पाएका छन् । नयाँ शक्ति पार्टीसँग गठवन्धन भएकाले पनि माओवादीको आधार क्षेत्रको रुपमा रहेको गोरखामा श्रेष्ठलाई सहज छैन । पहिलो संविधानसभामा पराजित भएको क्षेत्र भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
जर्नादन शर्मा/वीरवहादुर ओली
पूर्व गृहमन्त्री एवं माओवादीका प्रभावशाली नेता जर्नादन शर्माले यस पटक लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । माओवादीको आधार क्षेत्र रुकुम भए पनि र नेपाली कांग्रेस समेत प्रतिस्पर्धी दलको रुपमा रहेकाले दुई पक्षीय टक्कर हुने देखिन्छ ।
माओवादीका अर्का प्रभावशाली नेता वर्षमान पुन यस पटक पनि रोल्पावाट निर्वाचनमा उत्रेका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा पराजित भएका माओवादी नेता पुन यसपटक गठवन्धनलाई आधार बनाउन रोल्पाबट प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन् । यस पटक लोकतान्त्रिक गठबन्धनका तर्फबाट अमरसिंह पुनले उनलाई चुनौती दिँदैछन् ।
शक्तिबहादुर बस्नेत/राजीवविक्रम शाह
पूर्व गृहमन्त्री शक्ति बस्नेत यसपटक जाजरकोटबाट निर्वाचनमा भाग लिँदै छन् । उनलाई नेपाली कांग्रेसका पूर्व सांसद राजीवविक्रम शाहले टक्कर दिने भएका छन् । अघिल्लो संविधानसभामा २ निर्वाचन क्षेत्र रहेको उक्त जिल्लामा अहिले एकमात्र क्षेत्र कायम भएको छ ।
टेकबहादुर गुरुङ/पाल्तेन छेवाङ गुरुङ
दीपक मनाङ्गे वाम गठबन्धनमा प्रवेश गरेसँगै मनाङ चर्चामा छ । यही मनाङमा एक पटक पूर्व श्रम मन्त्री बनिसकेका नेपाली कांग्रेसका युवा नेता टेकबहादुर गुरुङ र एमालेका जिल्ला अध्यक्ष पाल्तेन छेवाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । कम जनसंख्या रहेको उक्त जिल्लामा दुवै प्रतिस्पर्धी बीच कडा टक्कर हुने देखिन्छ ।
देव गुरुङ/दिलबहादुर घर्ती
माओवादी पार्टी छाडेर वैद्य समूहतिर गए पनि पुनस् मुलपार्टीका फर्किएका देव गुरुङ यस पटक लमजुङबाट चुनावी प्रतिस्पर्धामा देखिएका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका गुरुङलाई लोकतान्त्रिकका दिलबहादुर घर्तीले चुनौती दिने भएका छन् ।
अघिल्लो संविधानसभामा निर्वाचनबाहिर रहेका गुरुङलाई आफ्नो राजनीतिक छवि कायम गर्न जित्नुपर्ने अवस्था देखिन्छ भने घर्ती उनलाई पन्छाउने दाउमा रहेका छन् ।