हेडमास्टरदेखि हेडमन्त्रीसम्म (को हुन् पृथ्वीसुब्बा गुरुङ)

प्रकाश ढकाल
पोखरा, माघ २९ ।
सम्भवतः संसदीय प्रतश्पिर्धामा सबैभन्दा बढी पराजीत नेता हुन् पृथ्वीसुब्बा गुरुङ । लमजुङेहरु उनलाई कहिल्यै चुनाव नजितेको नेता भनेर चिन्छन् । लगातारको सातौं प्रतिश्पर्धामा दुई पटक मात्रै उनका लागि संसदको ढोका खुल्यो । २०४३ को राष्ट्रिय पञ्चायतको चुनावमा तत्कालिन मालेको तर्फबाट जनपक्षीय उम्मेदवारका रुपमा गुरुङ पहिलो पटक संसदीय चुनाव लडे । पहिलो पटकमै पराजीत उनी बहुदलपछिका लगातार ३ चुनावमा पनि संसद पुगेनन् । २०४८, ०५१ र ०५६ को चुनावमा उनी कांग्रेसी उम्मेदवारसँग हारे । कहिल्यै ‘चुनाव नजितेका’ उनी त्यही सहानुभुतिले २०६४ को चुनावमा काँग्रेस नेता दीलबहादुर घर्तिलाई पछार्दै संसद छिरे । तर दोश्रो संविधानसभाको चुनावमा पनि उनी काँग्रेससँगै पराजीत भए । लगातारको परिश्रमले गुरुङ २०७४ को चुनावमा लमजुङ (ख) बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका छन् । अघिल्लो जीतमा पर्यटनमन्त्री भएका उनी कुनै अन्यथा नभए केही दिनमै प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । एकातिर उनको यो ‘डिमोसन’ हो भने अर्कोतिर ऐतिहासिक सफलता । दशक अघि नै पर्यटन तथा नागरिक उड्डयनमन्त्री भैसकेका गुरुङ प्रदेशमा चुनाव लडेर मुख्यमन्त्रीको अन्तिम यात्रामा छन् ।
२०४३ देखि लगातार संसदको दावेदार उनी २०६४ सालमा लमजुङ २ बाट प्रतिनिधीसभामा निर्वाचित भएका थिए । २०१४ सालमा लमजुङको गिलुङमा जन्मिएका पृथ्वीसुब्बा २०२७ सालदेखि नै राजनीतिमा सक्रिय छन् । सुरुमै लमजुङको भोर्लेटार स्थित ईशानेश्वर स्कुलमा अनेरास्ववियुबाट स्ववियु सचिव भएर काम गरेका उनी अमृत साईन्स क्याम्पस पुग्दा राजनीतिको बलियो खम्बा बनिसकेका थिए । २०३५ सालमा मालेबाट लमजुङको मध्य–उत्तर इलाका सदस्य, २०३६ सालमा पश्चि–उत्तर इलाका सदस्य हुँदै २०३७ सालमा मालेको पार्टी सदस्यता पाएका उनी २०४० मा लमजुङको जिल्ला कमिटि सदस्य बनेका थिए ।
२०४८ मा भएको पहिलो जिल्ला अधिबेशनबाट एमाले जिल्ला कमिटिको सचिवमा निर्वाचित गुरुङ दोश्रो कार्यकाल पूरा गर्दै २०५४ मा पार्टीको छैटौं महाधिवेशनबाट बैकल्पिक केन्द्रिय सदस्य बने । सोही समयमा उनले ५ बर्षसम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिवको रुपमा जिम्मेवारी पूरा गरे । २०६० मा पुगेपछि मात्रै उनी एमालेको केन्द्रिय सदस्यमा मनोनित भएका थिए । २०६१ देखि २०७० सम्म केन्द्रीय जातिय मामिला विभाग प्रमुख, ०६५ मा केन्द्रिय सदस्य, २०६५ मै पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका गुरुङ २०६९ देखि ०७१ सम्म केन्द्रिय कार्यालयको सचिव भएर काम गरे । २०७१ को नवौं महाधिवेशनबाट केन्द्रिय सचिवमा निर्वाचित भएका उनी हाल एमालेको केन्द्रिय संगठन विभाग प्रमुखको रुपमा कार्यरत छन् । पृथ्वीसुब्बालाई पार्टीभित्र कुशल संगठकको रुपमा चिनिन्छ । २०५४ सालमा एमाले विभाजन हुँदा संकटमा परेको गण्डकी एमालेलाई उनले कुशलता पूर्वक उठाएका थिए ।
गुरुङ विज्ञानका मास्टर हुन् । अमृत साईन्स क्याम्पसबाट विएस्सी सकेपछि उनले गिलुङकै बुद्धोदय माविमा विज्ञान बिषयको मास्टरी गरे । सात बर्ष स्कुलमा रहँदा उनले हेडमास्टरको पनि भूमिका पूरा गरे । तिनताक गुरुङ नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै अध्यक्षसम्म बने । उनी तमु धीं नेपालको संस्थापक सदस्य हुन् भने एमाले निकट लोकतान्त्रीक आदिवासी जनजाति महासंघको संस्थापक अध्यक्ष । राजनीतिक जीवनमा उनी पटक पटक हिरासत पुगेका छन् । लमजुङको प्रदेश सभा उनै लमजुङे पृथ्वीसुब्बा गुरुङ राजनीतिको आधा सतकपछि ऐतिहासिक मुख्यमन्त्री बन्दैछन् । केही दिनमै प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीको रुपमा नियुक्ति दिनेछन् । उनले प्रदेश ४ गुरुङ र मगर भाषाको बाहुल्य क्षेत्र भएकाले दुवै भाषालाई सरकारी कामकाजको भाषा बनाउने बताएका छन् ।