हुलाक दिवसमा हल्कारा सम्मानित

पोखरा, असोज २२ ।
१४९ औं विश्व हुलाक दिवस ९ अक्टोबरको अवसरमा हुलाक निर्देशनालय पोखराले विभिन्न कार्यक्रम गरेको छ । निर्देशनालयमा कार्यरत हल्कारा ऋषिराम बास्तोला र याङ्जाकोट अतिरिक्त हुलाक कार्यालयका हल्कारालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गर्दै जनही नगद ३ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यालयको कम्पाउन्ड बाहिर समाजिक मन्त्रालयबाट मालपोत जाने बाटोमा भएका खाल्डा पुर्ने काम कर्मचारीकै सक्रियतामा आइतबार भएको थियो । सोमबार भने कार्यालय परिसरभित्र सरसफाइ गर्ने, फूलका बिरुवा रोप्ने काम भएको थियो । ३० जनाभन्दा बढी कर्मचारी उक्त कार्यमा खटिएका थिए ।

निर्देशनालयमा २२ गते सोमबार नै पहिलो सेवाग्राही नेपाली पोखरा १२ का रोशन क्षेत्रीलाई सम्मान गरिएको थियो । विदेशी नागरिक एलेक्सिस चार्लीलाई टीका, खादा लगाई स्वागत गर्नुका साथै डायरीसमेत हस्तान्तरण गरिएको थियो । निर्देशनालयका निर्देशक कीर्तनराज पौडेल र शाखा अधिकृत तुलसी आचार्यले ती पाहुनालाई स्वागत र सम्मान गरेका थिए ।