हिमालपारिको तापक्रम माइनस १८, खोलै जम्न थाले

पोखरा, पुस २४ ।
पश्चिमी वायुका कारण उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने संकेत देखिएको छ । मनाङको तापक्रम माइनस १८ डिग्री पुगेको छ भने मुस्ताङमा माइनस ७ डिग्री छ ।

अचानक मौसममा हेरफेर भएकाले सेता हिमाल बादलले ढाकेको हो । मनाङका प्रमुख जिला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार खोला, धारा लगायत पानीका मुहानहरू जमेका छन् । आगोको छेउमा रहेर दिन बिताउनु पर्ने बाध्यता छ ।

चिसो छल्न गाउँका मानिसहरू मंसिर अन्तिम सातादेखि बाहिरी सकेका छन् । हाल मनाङमा सरकारी कार्यालयका कर्मचारी र घर हेर्ने मात्र छन् । विशेषगरी माथिल्लो मनाङ खांसार, थोराङ फेदी, मनाङगाउँ, ङाओल भ्रका, पिसाङ र नार फु लगायत ठाउँका मानिस चिसो छल्न जिल्लाबाट बाहिरिने चलन पुरानै हो ।

मुस्ताङमा पनि चिसोका कारण तालतलैया जम्न थालेका छन् । तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ । चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ ।