हिन्द महासागरले निल्यो पाकिस्तानको एक टापु

एजेन्सी, असार २५ ।
पाकिस्तानको मुख्यभूमिबाट केही पर रहेको एउटा सानो टापु हिन्द महासागरले निलेको छ । उक्त टापु सामुद्रिक लहरमा हराएको छ । ६ वर्षअघि पाकिस्तानको बलुचिस्तानमा ७.७ म्याग्निच्युडको भूकम्प आएपछि यो टापु बनेको थियो ।

जलजला कोह नामक उक्त टापु पानीभित्रको माटो ज्वालामुखी विस्फोट भएपछि बनेको थियो । महासागरका लहरहरूले यसलाई क्रमशः क्षयीकरण गर्दै गएपछि अन्तिममा यो पानीमा विलीन भएको छ ।

नासाले खिचेका तस्वीरले यो अचानक प्रकट भएको अनि क्रमशः हराउँदै गएको देखाउँछ । अहिले पानीभित्र भए पनि नासाका पछिल्ला तस्वीरमा यो टापु देखिन्छ । भूकम्पपछि बनेको टापुमा पर्यटक र स्थानीयहरू पुग्ने गरेका थिए यद्यपि त्यहाँ खराब धूवाँ आइरहन्थ्यो ।

टापुमा मरेका माछा, माटो, बालुवा र पत्थर हुने गर्थ्यो । टापु ९० मिटर अग्लो र ४० मिटर लामो थियो । तर यसको क्षेत्रफल घट्दै गएको थियो अनि अहिले त यो डुबिसकेको छ ।