‘हामी कम्युनिजम मान्थ्यौं अव काँग्रेसलाई भोट हाल्छौं’

पोखरा, मंसिर १७ ।
पोखरा १६ बाटुलेचौरका अर्जुन गायक सामान्य लेखपढ गर्न सक्छन् । उनको पुस्ता भन्दा पहिलेका कोही पनि पढेलेखेका छैनन् । त्यसैले यहाँका गन्धर्वहरु भोट हाल्न मात्रै होईन आफ्ना कुरा निर्धक्क भएर भन्न पनि सक्दैनन् । ‘गन्धर्व समुदाय पढेलेखेका छैनन् । हामीलाई दलित भनेर हेप्छन् । कम्युनिष्टहरु भोटका लागि मात्रै हामीलाई सम्झिन्छन्, अर्जुनले भने–हामी कम्युनिजम मान्थ्यौं तर यसपाली काँग्रेसलाई भोट हाल्छौं । अव हामीलाई डेमोक्रेसी चाहिएको छ ।’
उनले नेपालमा कम्युनिष्ट पार्टीहरुले स्वतन्त्रता दिन नसक्ने बताए । ‘हिजोसम्म हाम्रो स्वतन्त्रता कम्युनिष्टहरुसँगै छ जस्तो लाग्थ्यो । उनीहरुले हाम्रो जिवनस्तर उकास्लान् सोचेका थियौं, उनले भने–तर काँग्रेस जस्तो प्रजातन्त्र प्रेमी पार्टी हामीले देखेनौं । अवसरबादी कम्युनिष्टलाई भोट हाल्दैनौं, यसपाली काँग्रेसलाई जिताउने हो ।’ कम्युनिष्ट पार्टीसँग कर्तब्य नभएको उनको टिप्पणी छ ।
कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापालाई स्वागत गर्दै गन्धर्व समुदायले बहुमतका साथ चुनाव जिताउने बचन दिए । मतदातासँग भेटघाट गर्दै उम्मेदवार थापाले गन्धर्वको समस्या समाधान गर्न आफुँ निरन्तर लाग्ने प्रतिबद्धता जनाए । थापाले बाटुलेचौरमा गन्धर्व समुदायको संग्रालय स्थापना गर्ने बताएका छन् । ‘देशबाटै गन्धर्वको कला संस्कृति हराईसकेको छ । यसलाई जोगाउने हाम्रो दायित्व पनि हो, उनले भने–यसबाहेक तपाईँहरुको जनजीविकासँग जोडिने सबै समस्या अव मेरा समस्या हुन् । त्यसको समाधान विन्दुकुमार थापाले गर्छ, काँग्रेसले गर्छ ।’