हाफ पाइन्ट र मिनिस्कर्ट लाउनेलाई प्रशासन छिर्न रोक ?

पोखरा, भदौ ९ ।
केही दिन अघि कास्कीमा एउटा बहश चल्यो–हाफ पाईण्ट र मिनिस्कर्ट लाउनेलाई जिल्ला प्रशासन कार्यालय छिर्नै रोक लगाउने । सरकारी कार्यालयमा गएका सेवाग्राहीको पोशाकले कार्यालय नै अभद्र देखिने गरेको भन्दै कास्की प्रशासनले त्यस्ता ब्यक्तिहरुलाई कार्यालय जान नदिने बहस गरेको हो ।
आइतबारदेखि लागू गर्ने भनिएको यो नियम कार्यान्वयन नहुँदै फिर्ता लिईएको छ । ‘हामीले स्थानीय र केही भिआईपीहरुसँग पनि छलफल गर्यौं । वहाँहरुको राम्रो प्रतिक्रिया छ, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने–मान्छेको ब्यक्तिगत स्वतन्त्रता हुन्छ । त्यसलाई रोक्ने अधिकार हामीलाई छैन । केही समयपछि पूरा तयारी गरेर मात्रै यो नियम लागू गर्छौं ।’
सेवाग्राही छोटा एवं पारदर्शी लुगा लगाएर कार्यालय पस्दा कार्यालयको गरिमा माथी नै प्रश्न आउन थालेको सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । उनले भद्र र शिष्ट देखिने पोशाक प्रयोगमा ल्याउने कुरालाई छलफलमा अघि सारिएको बताएका छन् ।