हाकिमको मोजमस्तीमै सकियो भूकम्पपीडितका पैसा

पोखरा, माघ २८ ।
भूकम्पपीडितको राहतका लागि प्राप्त अनुदान सरकारी हाकिमको मोजमस्तिमै बढी खर्च हुन्छ । भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहितको पुनः निर्माणमा प्रत्यक्ष संलग्न कार्यालयका प्रमुख, गैरसरकारी संघ संस्थाका व्यक्तिहरू पोखरामा छन् । उक्त गोष्ठी पुनः निर्माण प्राधिकरण गोरखाको आयोजनामा चलिरहेको छ । त्यहाँ दाता भने गोरखामा भूकम्प पीडितका लागि काम गर्न आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था छन् । प्राधिकरणले एनजिओरआइएनजिओसँग पैसा उठाएर पोखरामा कार्यक्रम गरेको हो ।
गोरखाको पुननिर्माण ५० प्रतिशत पनि पुरा नभएको अवस्थामा यहाँको समीक्षा भने पोखरा स्थित बाराही होटलमा चलिरहेको छ । गोष्ठी पोखरामा भएको प्रति जिल्लाका सरोकारवाला र भूकम्प पीडितले आक्रोश व्यक्त गरेका छन् । गोष्ठीमा भूकम्प पछिको पुन निर्माणमा प्रत्यक्ष सरोकार राख्ने भूकम्प पीडित र स्थानीय तहका जनप्रतिनीधिलाई भने सहभागी गराइएको छैन । थोरै सहभागी गराएर रमाइलो गर्न पोखरामा सीमित व्यक्तिलाई सहभागी गराएर कार्यक्रम गराइएको प्राधिकरण स्रोतले जनाएको छ । गोष्ठीमा सहभागी पुनः निर्माण प्राधिकरण गोरखाका प्रमुख बेदप्रसाद आचार्यले भने ‘सबैले पोखरामा गरौँ भने हामीले पनि हुन्छ भनेर गरेका हौँ ।’ उनी प्रमुख भएर आएको दुईसाता भित्रै पोखरामा गोष्ठी गरेका हुन् । यस्तो खालको सर्वपक्षीय गोष्ठी प्राधिकरणले गोरखामा अहिलेसम्म गरेको छैन ।
‘आजदेखि गोष्ठी सुरु भएको छ, यो गोरखामा गरेको भएपनि हुने खालको कार्यक्रम थियो’ सहभागी एक सदस्यले भने ‘भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण समीक्षा गर्न भूकम्पले खासै असर नपुगेको पोखरा किन आउनुपरेको हो त्यो थाहा भएन ।’ कतिपय सहभागीलाई पोखरामा कार्यक्रम भन्ने मात्रै थाहा थियो तर के कार्यक्रम भन्ने बारेमा कार्यक्रम सुरु भएपछि पोखरा पुगेर मात्रै थाहा भएको बताए । रमाइलो गर्न हाकीमहरूलाई सहज होस् भन्ने उद्देश्यले त्यहाँ कार्यक्रम भएको एक कर्मचारीले बताए । कार्यक्रम भएको होटलमा १० वटा कोठा बुक गरिएको छ भने करिब ४० जनाका लागि खाना अर्डर गरिएको छ । केही सहभागीलाई भने बस्नका लागि आफैँ व्यवस्था गर्न भनिएको छ ।
कार्यक्रममा सहभागी सबै गोरखाबाट पोखरा आएका छन् । कार्यक्रममा करिब ४० जना सहभागी छन् । सोमबार बेलुकी कार्यक्रम सकेर गोरखा फर्कने कार्यक्रममा रहेको पुन निर्माण प्राधिकरण गोरखाले जनाएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी, खानेपानी, प्राविधिक, गैरसरकारी संस्था महासंघ, अन्तराष्ट्रिय गैरसरकारी संस्थाको प्रमुख सहभागी छन् ।