हरिशरण आचार्य प्रदेश ४ का मुख्यमन्त्री (यस्तो छ नयाँ शक्तिको मन्त्रीमण्डल)

पोखरा, चैत २० ।
नयाँ शक्ति पार्टी नेपालले प्रदेश ४ मा बैकल्पिक सरकार गठन गरेको छ । बैकल्पिक सरकारमा गोरखाका सांसद हरिशरण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् भने अर्की सांसद धनमाया पोख्रेल लामा भौतिक पूर्वाधार मन्त्री बनेकी छिन् । २ सांसद मात्रै पाएको नयाँ शक्तिले अरु मन्त्रीहरु चुनाव बाहिरका नेतालाई बनाएको छ ।
नयाँ शक्ति नेपालको सोमबार र मंगलबार कास्कीको लुम्लेमा भएको प्रदेश ४ को बैठकले बैकल्पिक सरकार गठन गरेको हो । सबै मन्त्रीको भाग पुर्याउन आर्थिक मामिला तथा योजना मन्त्रीमा मोती रिजाल, उघोग पर्यटन वन तथा वातावरणमा खड्गबहादुर गुरुङ, भूमि ब्यवस्थापन कृषि तथा सहरकारीमा लक्ष्मी खाती परियार, आन्तरिक मामिला तथा कानुनमा गुणाखर बस्याल र सामाजिक विकास मन्त्रीमा गोपेन्द्र केशरी न्यौपाने चुनिएका छन् ।
पार्टीले यस प्रदेश अन्तर्गतका ८४ वटै स्थानीय तहहरुमा वैकल्पिक सरकार गठन गर्ने, प्रदेश अन्तर्गतका विभिन्न आयोग, विभाग, आंगिक तथा पेशागत संगठनहरुको समेत गठन र त्यसको जिम्मेवारी बाडफाँड समेत गरेको छ । बैठकले १ सय ९९ सदस्यीय प्रदेश परिषद गठन पनि गरेको छ । कार्यक्रममा पूर्व प्रदेश इञ्चार्ज देवेन्द्र पराजुलीले राजनीतिक प्रशिक्षण दिएका थिए ।