हत्या आरोपमा पक्राउ परेका काँग्रेस सांसद आलम निलम्बित, सेवा–सुविधा रोक्का

 

काठमाडौं, असोज २७ ।

व्यक्ति हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।

संसद सचिवालयले आज सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो ।

रौटहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई अनुसन्धानका लागि हिजो प्रहरीले पक्राउ गरेको थियो ।

पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

निलम्बन्मा परेसँगै आलमको सेवा सुविधा रोक्का भएको छ । उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।

मुद्दा अवधिभर उनी सांसदबाट निलम्बित हुनेछन् भने दोषी ठहर भए पद नै जानेछ ।

दोषी ठहर नभएसम्म उनी सांसदको लोगो लगाएरै जेलमा रहनेछन् ।

प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा कुनै कार्य गर्न कुनै उन्मुक्ति वा अधिकार प्राप्त नहुने उल्लेख छ ।

नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ ।
(ईमेजखबरबाट साभार)